काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त प्रशिक्षका भिन्सेन्जो अल्बर्टो एनिसले नेपालमा भएको खेलाडीलाई समेट्दै राष्ट्रिय टोलीको निर्माण गर्ने जनाएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा मंगलबार इटालियन प्रशिक्षका भिन्सेन्जो अल्बर्टो एनिसले चलिरहेको सहिद स्मारक ए डिभिजन लिग र विगतका खेलबाट उनीहरुले गरेको प्रदर्शनका आधारमा टिम बनाउने बताए । राष्ट्रिय टोलीका अधिकांश खेलाडी पलायन भएको अवस्थामा टोली सम्हाल्न नेपाल आएका भिन्सेन्जोले जारी सहिद स्मारक ए डिभिजन लिग र विगतका प्रतियोगितामा खेलेका खेलाडीलाई समेट्ने जनाएका हुन् ।
प्रशिक्षक भिन्सेन्जोले प्रशिक्षक बन्न अवसर खोजिरहेको र तीन वर्षदेखि नेपाली फुटबल पछ्याइरहेकाले नेपाल आउन चाहेको धारणा राखे । भारतीय आई लिगमा नेपाली खेलाडीको प्रतिभा देखेको र चलिरहेको ए डिभिजन लिगमा पनि आफूले सम्भावना बोकेका खेलाडी भेटेको समेत जनाए ।
यस्तै राष्ट्रिय टोलीका केही खेलाडी विदेश गएको अवस्थामा कसरी टोली निर्माण गर्नुहुन्छ भन्ने प्रश्नमा प्रशिक्षक भिन्सेन्जोले टिम बनाउँदा सम्पूर्ण रुपमा नयाँ नसकिने र एकैपटक धेरै नयाँ खेलाडीलाई मात्र समेटेर बनाउन कठिन हुने धारणा राखे । उनले विदेश गएका खेलाडीसँग सम्पर्क गर्ने प्रयास गर्नेसमेत जनाए । प्रशिक्षक भिन्सेन्जोले नेपाल आउनुको लक्ष्य धेरैभन्दा धेरै खेलमा नेपाललाई सुखद् नतिजा दिलाउने र नेपालले विगतमा हासिल गर्न नसकेको सफलता दिलाउँदै करियर सुधार गर्ने लक्ष्य रहेको जानकारी दिए ।
यसअघिका कतारी प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र एन्फाबीचको विवादबारे भने उनले प्रतिक्रिया जनाएनन् । जारी लिगमा यही साता पाँचौं चरणका खेल सकिनेछन् । त्यसपछि राष्ट्रिय टिमको अभ्यास सुरु हुनेछ । भिन्चेन्सोको पहिलो परीक्षा आगामी चैत ८ देखि १७ गतेसम्म रंगशालामा हुने प्रधानमन्त्री थ्री नेसन्स कप हुनेछ ।
नेपालले नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसको प्रशिक्षणमा नेपालले पहिलो घरेलु मैदानमा नेपाल, लाओस र भुटान सम्मिलित अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै छ । प्रशिक्षक भिन्सेन्चोलाई एन्फाले मासिक तलबबाहेक खाने-बस्ने र आउने जाने व्यवस्था गरेको गरेको छ । प्रशिक्षकका लागि आवश्यक पर्ने बजेट हालका लागि एन्फाको आन्तरिक स्रोतबाट व्यवस्था गरिएको छ । प्रशिक्षका सम्झौता एक वर्षका लागि गरिएको हो ।