स्याङ्जा । स्याङ्जाको वालिङ खेलमैदानमा सञ्चालित वालिङ गोल्ड कपको प्रथम संस्करणको उपाधि आयोजकले जितेको छ ।
शनिबार सम्पन्न फाइनल खेलमा आयोजक वालिङ युनाईटेड क्लब निलोले विदेशी टिम अफ्रिकन एभिनियर फुटबल क्लब क्यामरुनलाई टाई ब्रेकरमा ४–३ गोल अन्तरले पराजित गरेको हो ।
निर्धारित समयमा दुवै क्लबबाट कुनै गोल हुन नसकेपछि खेल टाई ब्रेकरबाट टुंगिएको हो ।
प्रतियोगितामा विजेता टिम आयोजकले नगद पाँच लाख रुपैयाँसहित प्रथम संस्करणको वालिङ गोल्ड कपको ट्रफी जितेको छ । पराजयसंगै द्वितीय भएको एभिनियरले नगद दुई लाख पचास हजार रुपैयाँ प्राप्त गरेको छ ।
प्रतियोगितामा लिस्नु फुटबल क्लब रुपन्देही, केबीएल ग्लोबल भरतपुर फुटबल क्लब चितवन, साहारा क्लब पोखरा, त्रिभुवन आर्मी क्लब काठमाडौं, एपीएफ फुटबल क्लब काठमाडौं, अफ्रिकन क्लब एभिनियर फुटबल क्लब क्यामरुन र स्थानीय २ टिमसहित ८ टिमको सहभागिता थियो ।