ललित स्मृति एन्फा यू-१८ लिग : चर्च बोइज र मनाङ मर्स्याङ्दीबीच गोलरहित बराबरी

मंसिर ३, २०८१ |खेल ब्युरो
ललित स्मृति एन्फा यू-१८ लिग : चर्च बोइज र मनाङ मर्स्याङ्दीबीच गोलरहित बराबरी

ललितपुर । ललित स्मृति एन्फा अन्डर १८ लिगमा चर्च बोइज युथ क्लबले मनाङ मर्स्याङ्दी क्लबसँग गोलरहित बराबरी खेलेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा दुवै टिम गोल गर्न असफल रहे ।

लिगको १०औं खेलमा मनाङले गोलका अवसरलाई सदुपयोग गर्न सकेन । खेलको १३औं मिनेटमा विसाल चन्दले गोलकिपरसँग वान भर्सेस वानको अवस्थामा पनि गोल गर्न सकेनन् । २६औं मिनेटमा अमृत बस्यालले डिफेन्डर बिट गर्न नसक्दा पोस्टको साइडबाट पनि गोल गर्न असफल रहे । 

खेलको ३१औं मिनेटमा चर्च बोइजले पेनाल्टी बक्स नजिकै फ्रि किकको अवसर पाएको थियो । पासाङ लामाको फ्रि किक प्रहार गोलकिपर उदयजंग पाण्डेले बचाएका थिए । ५५औं मिनेटमा पासाङको उत्कृष्ट क्रसमा श्यामबहादुर लोले बल नियन्त्रणमा लिएर प्रहार गर्न नसक्दा चर्च बोइजले गोलको अर्को अवसर गुमायो । 

मनाङका भुपेन कडायत ६५औं मिनेटमा गोल गर्नबाट चुके । चर्च बोइजका काउन्टर अट्याक सफल हुन सकेनन् भने खेलमा अधिक समय बलमा नियन्त्रण बनाए पनि मनाङका सबै प्रयास खेर गए । 

आजको बराबरीसँगै मनाङले २० अंक बनाएको छ भने चर्च बोइजको १३ अंक छ। शीर्षस्थानको नेपाल पुलिसभन्दा ३ अंकले पछि रहेको मनाङ आज फेरि दोस्रो स्थानमा उक्लिएको हो । यसअघि दोस्रो स्थानमा रहेको न्युरोड टिम एनआरटी तेस्रो स्थानमा झरेको छ ।