सार्वजानिक जग्गा अतिक्रमणमा ठूलाबडा नै संलग्न : प्राधिकरण

भाद्र ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
सार्वजानिक जग्गा अतिक्रमणमा ठूलाबडा नै संलग्न : प्राधिकरण

काठमाडौं । काठमाडौं उपत्यकामा रहेका सार्वजानिक, नदी किनारका जग्गा अतिक्रमणमा नाम चलेका व्यक्तिहरू नै संलग्न रहेको पाइएको काठमाडौं उपत्यका विकास प्राधिकरणले जनाएको छ ।

बुधबार आयोजित पत्रकार सम्मलेनका प्राधिकरणको काडमाडौं जिल्ला आयुक्त शुभाष बस्नेतले उच्चपदस्थ व्यक्ति तथा नाम चलेका विद्यालयहरूले सार्वजानिक जग्गा अतिक्रमण गरेको जानकारी दिनुभयो । 

उहाँले काठमाडौमा कम्तीमा पनि एक लाख रोपनी भन्दा धेरै जग्गा अतिक्रमण भएको बताउनु भयो । २०२१, २०४४ र २०५६ को नापीलाई अध्ययन गर्दा धोबी खोलामा मात्रै २ सय रोपनी जग्गा अतिक्रमण भएको उहाँले जानकारी दिनुभयो । 

तीन चरणको नापीलाई अध्ययन गर्दा ३ हजार रोपनी नदी किनारका मात्रै अतिक्रमण गरिएको उहाँको भनाइ छ । ती जग्गाहरू अहिले व्यक्तिले आफ्नो नाममा दर्ता गरिसकेको स्थिति रहेको उहाँले बताउनु भयो । 

तिलगंगादेखि चोभारसम्म १० वटा टुँडिखेल बन्ने जत्रो ठाउँ अतिक्रमण भएको उहाँको भनाइ छ । ती सबै जग्गाहरू झुपडीवालाले नभई ठूलाठूला व्यक्ति, नाम चलेको स्कुल र विश्वास गर्न नै नसक्ने मान्छेले कब्जा गरेर बसेको उहाँले बताउनु भयो ।

काठमाडौं उपत्यका विकास प्राधिकरणले सार्वजानिक जग्गा अतिक्रमण गर्नेको सम्पत्ति रोक्का गर्ने काम सुरू गरेको पनि उहाँले जानकारी दिनुभयो । प्राधिकरणलाई जग्गा रोक्नसक्ने अधिकार रहेको उहाँले बताउनु भयो । 

उहाँले माधव खोलामा सार्वजानिक जग्गा मिचेर आफ्नो कम्पाउण्डभित्र लगेकाहरूको प्राधिकरणले सम्पती रोक्का गरिसकेको जानकारी दिनुभयो । उहाँले चैत ३ गतेदेखि अवैध प्लटिङ्गलाई कित्ताकाट रोक्का गरेको जानकारी दिनुभयो । हाल १ हजार १५० कित्ता अवैध प्लटिङ्ग रोक्का भएको उहाँको भनाइ छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.