पाल्पा । सांस्कृतिक र धार्मिक मान्यता बोकेको सराय नाच चैते दशैं तथा रामनवमी पर्वका अवसरमा पाल्पाका दशैंघर, देवीका मन्दिर तथा कोतघरमा देखाइएको छ ।
रिब्दीकोट र रैनादेवी छहराका देवी मन्दिरमा राखिएका तरवार र खुँडा नचाउँदै सराय नाचिएको हो । केही मन्दिरमा स्थानीयले पूजाआजा गर्ने, रमाइलो गर्नुका साथै बडा दशैं र चैते दशैंमा दुई पटक सराय नाच नाच्ने गरिन्छ ।
चैतको अष्टमी र राम नवमीका दिनमा दशैंघर तथा कोतघरमा देवीलाई खुसी पार्न पञ्चेबाजाको तालमा सराय नाच नाच्ने चलन छ । सराय नाच देवीलाई खुसी पार्न निकाल्ने परम्परा हो । वर्षौंदेखि कोतघरमा चढाएका तरवार र खुँडालाई समातेर रमाउँदै युवाहरुले नचाउने र प्रदर्शन गर्ने गर्छन् ।