सेतो मच्छिन्द्रनाथको जात्रा सुरु, मूल देवतालाई ३२ हात अग्लो रथमा रथारोहण

चैत्र २३, २०८१ |नारायण किलम्बू
सेतो मच्छिन्द्रनाथको जात्रा सुरु, मूल देवतालाई ३२ हात अग्लो रथमा रथारोहण

काठमाडौं । काठमाडौंको प्रसिद्ध सेतो मच्छिन्द्रनाथको रथ जात्रा आजदेखि सुरु भएको छ । मच्छिन्द्रनाथको मूलदेवतालाई जमलस्थित तीनधारा पाठशाला अगाडिको ३२ हात अग्लो रथमा रथारोहण गरेपछि जात्रा सुरु भएको हो । 

स्थानीय भाषामा जनबहा:द्य भनिने सेतो मच्छिन्द्रनाथलाई वर्षा र सहकालका देवताका रूपमा पुजिन्छ ।

नेवार समुदायले जनबहा:द्य भन्ने सेतो मच्छिन्द्रनाथलाई शान्ति, करूणा, आयु, आरोग्य करूणामय लोकेश्वरका रूपमा पुजिन्छ । धार्मिक रूपमा छुट्टै महत्त्व बोकेको मच्छिन्द्रनाथको मूल देवतालाई खटमा राखी मच्छिन्द्रबहालबाट जमलसम्म ल्याइन्छ । 

गुरुजूको पल्टन, परम्परागत बाजागाजा सहित जमलस्थित तीनधारा पाठशालामा बनाइएको ३२ हात अग्लो रथमा मच्छिन्द्रनाथको देवतालाई रथारोहण गरेपछि जात्रा प्रारम्भ हुन्छ ।

सेतो मच्छिन्द्रनाथको जात्रा प्रत्येक वर्षको चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैंदेखि प्रारम्भ हुने गरेको छ । काठ, बेतमात्र प्रयोग गरी बनाइएको मच्छिन्द्रनाथको रथ जात्राको पहिलो दिन तीनधारा पाठशालाबाट रत्नपार्क भोटाहिटी हुँदै असनसम्म पुर्‍याइन्छ । जात्रालाई शान्तिपूर्ण र व्यवस्थित रूपमा गराउन २० वटा उपसमितिहरू गठन गरिन्छ । 

जात्रालाई विश्वसामु परिचित गराउन नेपाल पर्यटन बोर्डको संयोजनमा विदेशी पर्यटकहरूलाई जात्रा अवलोकनको व्यवस्था समेत मिलाइएको छ ।

रथयात्राका क्रममा रैथाने नेवार समुदायले परिवारको सुख शान्ति र कल्याणको कामना गरी घरबाटै पूजा गरी धूपबत्ती बाल्ने चलन छ ।

परापूर्वकालमा जमल क्षेत्रको खेतमा एक ज्यापूले खेत खन्दा मच्छिन्द्रनाथको मूर्ति फेला पारेका थिए । मूर्ति घर लगी धानको भकारीभित्र लुकाई राखे । ज्यापूले जति धान निकाले पनि भकारी कहिल्यै रित्तिएन । त्यसपछि मूर्तिलाई अन्नदाता मानेर जनबहालमा रथ बनाई जात्रा मनाउन थालिएको जनविश्वास छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।