कञ्जचनपुर । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आजदेखि आगामी तीन दिनसम्म देशका प्रमुख नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने भन्दै सचेतना अपनाउन आग्रह गरेको छ । विशेषगरी कर्णाली, महाकाली र नारायणी नदीहरूमा बहाव बढ्ने तथा पहाडी क्षेत्रका दर्जनौँ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम रहेको भन्दै महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।
महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार आज बिहानको मापनमा प्रमुख नदीहरूको जलस्तर सतर्कता तहभन्दा तलै रहे पनि कर्णाली, पश्चिम सेती र महाकालीमा बहाव बढ्दो क्रममा रहेको छ । महाशाखाका अनुसार कर्णाली र महाकाली नदी तथा त्यसका सहायक नदीहरूमा आज, भोलि र पर्सि तीनै दिन बहाव उल्लेख्य बढ्ने छ।
महाशाखाले आजका लागि ससाना नदीहरूमा बाढीको विशेष चेतावनी जारी गरेको छ। कैलाली, कञ्चनपुर, बर्दिया, सुर्खेत, डोटी, बैतडी, दार्चुलाका साथै काठमाडौँ, ललितपुर, भक्तपुर र आसपासका जिल्लाहरूमा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ। यसैगरी, पर्वत, बागलुङ, रोल्पा, म्याग्दी, प्युठान, गुल्मी, दाङ, बाँके, सिन्धुपाल्चोक, काभ्रे, अर्घाखाँची, रुकुम पश्चिम, सल्यान, जाजरकोट, कालिकोट, दैलेख, अछाम, डडेलधुरा र बझाङका केही ससाना नदीमा पनि बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको पूर्वानुमान छ।
महाशाखाले नदीतटीय क्षेत्र तथा बाढीको जोखिम रहेका जिल्लाका बासिन्दालाई विशेष सावधानी अपनाउन, यात्रा गर्दा होसियारी रहन र आवश्यक पूर्वतयारी गर्न अनुरोध गरेको छ।