सप्तरी । अरुकाे नागरिकतामा आफ्नो फाेटाे टाँसेर बैंकमा खाता खाेलेर रकम ठगी गर्ने गिराेह सक्रिय रहेकाे तथ्य खुलेकाे छ । पछिल्लो पटक सप्तरी प्रहरीले दुईजनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएपछि यस्तो तथ्य खुलेकाे हाे ।
उक्त गिराेहमा संलग्न रहेकाे आराेपमा सप्तरी प्रहरीले राजविराज नगरपालिका-१२ घर भई हाल वडा नम्बर ५ बस्ने २० वर्षीय अरूणकुमार यादव र २८ वर्षीय अभिषेक यादवलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएकाे जनाएको छ ।
राजविराज नगरपालिका-१ का विजयकुमार यादवकाे नागरिकता २०८० असारमा हराएकाे थियो । नागरिकता हराएपछि यादवले नागरिकताको प्रतिलिपि पनि बनाउनुभयाे । तर, हराएको उक्त नागरिकतामा पक्राउ परेकामध्ये अरुणकुमारले आफ्नो फाेटाे टाँसेर विराटनगरस्थित सिटिजन्स बैंकमा खाता खोलेर अरु व्यक्तिबाट रकम ठगी गरिरहेकाे प्रहरी अनुसन्धानले देखाएको छ ।
यता बैंक खाताकाे आधारमा रकम ठगी गर्ने व्यक्ति विजयकुमार यादव भएकाले यादवमाथि काठमाडौं र चितवनमा ठगी मुद्दा चलेपछि दाजु रामकुमार यादवले जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिनु भएको थियो । काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी नै जारी भएपछि विजयकुमार पनि फरार छन् ।
सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले कीर्ते नागरिकता र बैकिंङ कसुरमा विभिन्न जिल्लामा गिराेह नै सक्रिय भएकाे हुँदा काठमाडौं र चितवन प्रहरीसँगकाे समन्वयमा विस्तृत अनुसन्धान अगाडि बढाउने जानकारी दिनुभयो ।
यता पक्राउ परेका दुवैजनामाथि प्रहरीले ठगी तथा नागरिकता सम्बन्धी कसुरमा सप्तरी जिल्ला अदालतबाट म्याद थप गराएको छ भने कुन-कुन बैंकबाट कति रकम ठगेको विषय पनि अनुसन्धानमै रहेकाे जनाएको छ ।