नवलपरासी । गत मंगलबार पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-३ बेलासपुरमा भएको दुई समूहबीचको झडपको घटनापछि ५ बुँदे सहमति भएको छ ।
दुई समुहबीचको विवाद हुँदा १३ फागुनमा बेलासपुरमा १ जनाको मृत्यु र २० जना घाईते भएका थिए । झडपको क्रममा सवारी साधनले ठक्कर दिँदा घाइते भएका पाल्हीनन्दन-३ का ३५ वर्षीय विजय धवलको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए । विवाद बढ्ने भएपछि जिल्ला प्रशासन, जिल्ला समन्वय र सरोकारवालाबीच हिजो भएको छलफलमा ५ बुँदे सहमति भएको हो ।
मृतकका परिवारलाई राहात र घटनामा संलग्न दोषीलाई कारबाही गर्ने लगायतका ५ बुँदे सहमति भएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी हिरालाल अधिकारीले बताउनुभयो । सहमतिसँगै मृतकको दाहसंस्कार भएको र आवश्यक अनुसन्धान भइरहेको छ ।
मुसलमान समुदायको केटी र धोवी थर भएका केटाबीचको प्रेम सम्बन्धलाई लिएर दुई समूहबीच विवाद भएको थियो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउन्ड अश्रु ग्यास र ३ राउन्ड हवाइ फायर गरेको थियो । झडपमा उत्रिएकाहरुले प्रहरीको भेनमा आगो लगाउनुका साथै केटी पक्षको कवाडी गोदाममा आलजनी गरेका थिए ।
सोमबार केटाका भाइलाई केटी पक्षका आफन्तले कुटपिट गरेपछि विवाद चर्किएर मंगलबार झडपको स्थिति उत्पन्न भएको थियो । स्थानीयका अनुसार केटाकेटी दुवैको उमेर २० वर्षको हाराहारीमा भएको र प्रेम सम्बन्धमा रहेका उनीहरु परिवारको सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ । प्रेममा रहेका केटाकेटी दुवै पक्षका आफन्तले अलग-अलग राख्ने प्रयास गरे पनि केटाकेटी नमानेपछि उनीहरु परिवार र प्रहरीको सम्पर्कमा आएका छैनन् ।