कर्णालीमा बढ्दो दुर्घटना : खराब सडक र पुराना गाडीको परिणाम, नियमनको अभाव

कार्तिक २९, २०८१ |कमल पन्त
कर्णालीमा बढ्दो दुर्घटना : खराब सडक र पुराना गाडीको परिणाम, नियमनको अभाव

काठमाडौं । यसै सता कर्णाली राजमार्गसहित त्यससँग जोडिएका सडकहरूमा दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ भने ५० जनाभन्दा बढी गम्भीर घाइते भएका छन्। कर्णालीका साँगुरा सडक, पुराना सवारीसाधन र कमजोर ट्राफिक व्यवस्थापन दुर्घटनाका मुख्य करण बनेका छन् ।

कात्तिक २३ गते दैलेख सुर्खेतको सिमाना रानिमत्तामा फोर्स गाडी दुर्घटना हुँदा चार जानको ज्यान गयो भने कात्तिक २५ गते कालीकोटमा भएको जिप दुर्घटनामा ७ जनाले ज्यान गुमाए । यसैगरी, जाजरकोटको कुदुमा फोर्स गाडी दुर्घटना हुँदा २० जना घाइते भए । घाइतेहरुको हेलिकोप्टरबाट उद्धार गरियो । 

पछिल्लो सयममा भएको यी सवारी दुर्घटनामा सिट क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको ट्राफिक प्रहरीको भनाइ छ । भौगोलिक विकटता र साँगुरा सडक सञ्जाल त्यसमा पनि पुराना गाडीहरु र रुट परमिट जारी नभएका रुटमा गाडी सञ्चालन गरिएकाले दुर्घटना हुने गरेको  कर्णाली प्रदेशको नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालयका निरीक्षक हरिबहादुर बिसीको भनाइ छ । 

राजमार्गमा भएका प्रहरी चेक पोष्ट छलेर यातायात व्यवसायीले सिट क्षमताभन्दा बढी यात्रु चढाउने गरेका छन् । कर्णाली राजमार्गसहित जोडिएका साँगुरा सडकहरुमा ट्राफिक नियम विपरीत सवारी साधान सञ्चालन गरिनुले कर्णालीका सडक असुरक्षित बन्दै गएका छन् । झण्डै २० वर्ष पुराना राजमार्गको स्तरोन्नति हुन नसक्दा दोहोरो गाडी पास हुन सक्ने अवस्थाका सडक छैनन् । यातायात व्यवसायी रमेश सापकोटा भने सडकको स्तरोन्नति नहुँदा गाडी दुर्घटना हुने र त्यसको जिम्म यातायात व्यवसायीलाई लाग्ने गरेको भन्दै गुनासो व्यक्त गर्नुहुन्छ ।

विकट र दुर्गम क्षेत्रका सडकहरुमा गुड्ने सवारी साधन पुरान र रुट परमिट नभएका पनि सञ्चालन गरिएका छन् । पुराना गाडीहरुको रुट परमिट र जाँच पास दिँदा गाडीको अवस्थाको परीक्षणबिना नै नवीकरण गरिने जस्ता करणले दुर्घटना निम्त्याएको हो ।

यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेशमा नवीकरण गर्न आउने सवारी साधनको सिट क्षमता अनुसार भए नभएको, गाडीको कन्डिसन परीक्षण गर्नुे पर्ने हो । तर, गाडीको अवस्था परीक्षण गर्ने प्रविधि नभएको र त्यसको माग संघीय कार्यालयमा गरिए पनि पाउन नसकेको यातायात व्यवस्था कार्यालयले जनाएको छ ।

कर्णाली प्रदेशमा १ हजार २ सय ६५ किलोमिटर सडक पक्की छ भने १ हजार २० किलोमिटर सडक ग्राबेल र ७ हजार ४ सय १ किलोमिटर सडक कच्ची गरी ९ हजार ६ सय ८७ किलोमिटर सडकमा सवारी साधन गुड्ने गरेका छन् ।


Image

कमल पन्त

पन्त कान्तिपुर टीभीका सुर्खेत प्रतिनिधि हुन् ।


Enter Kantipur TV HD
Advertisement