ग्यास बुलेट गाडीको ठक्करबाट श्रीमानकाे मृत्यु, श्रीमती र छोरा घाइते

कार्तिक १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
ग्यास बुलेट गाडीको ठक्करबाट श्रीमानकाे मृत्यु, श्रीमती र छोरा घाइते

बागमती । पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-७ लच्कास्थित सडकमा साेमबार बिहान ग्यास बुलेट गाडीले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ भने श्रीमती र छोरा घाइते भएका छन् ।

चितवनबाट मनहरीतर्फ आउँदै गरेको बा प्र २-०५७ प ३२३० नं को स्कुटरलाई सोही दिशातर्फ आउँदै गरेको एनएल ०१ एन ०२८० ग्यास बुलेटले ठक्कर दिँदा स्कुटर चालक सिन्धुपालचोकको चौतारा नगरपालिका-५ निवासी ३० वर्षीय केदार श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते श्रेष्ठलाई उपचारका लागि हेटौँडा अस्पतालमा ल्याएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । सोही दुर्घटनामा परी स्कुटरको पछाडि सवार मृतकका श्रीमती २८ वर्षीया सरस्वती श्रेष्ठ, दुई वर्षीय छोरा प्रवीण श्रेष्ठ घाइते भएको र दुवै जनाको एलाइभ अस्पताल चितवनमा उपचार भइरहेको छ ।

ठक्कर दिने ग्यास बुलेटसहित चालक भारतको विहार निवासी ५५ वर्षीय मोहम्मद मतिनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.