
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरूलाई चौबिसै घण्टा निगरानी गर्न संसद्का प्रतिपक्षी दलहरूलाई आग्रह गर्नुभएको छ । आज बसिरहेको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताउनुभएको हो ।
लामिछानेले सरकारका निर्णयहरू एकतर्फी नहुने भन्दै सरकारले बाटो नबिराएमा सच्याइदिन पनि आग्रह गर्नुभयो । उहाँले प्रतिपक्षीको आवाज कमजोर हुन नदिने पनि बताउनुभयो ।
उहाँले संसद् बहसको थलो भएको भन्दै प्रतिपक्षीलाई प्रतिशोध नसाँध्ने पनि दाबी गर्नुभयो । “संसद् बहसको थलो हो, प्रतिशोधको होइन । आफ्ना बचाउने र अरूलाई फासाउने कानुन तत्काल सच्याउँछौँ । प्रतिपक्षीमाथि प्रतिशोध साँध्दैनौँ,” उहाँले भन्नुभयो ।
लामिछानेले संसदीय समितिमा बहुमतले पनि नपेल्ने उल्लेख गर्नुभयो ।
बैठकलाई सम्बोधन गर्दै लामिछानेले यसअघिका सरकारबाट राजनीतिक नियुक्ति लिएकाहरूले राजीनामा दिएर मार्ग प्रशस्त गरिदिन पनि आग्रह गर्नुभयो ।
एकल बहुमतका सरकार यसअघि प्रभावकारी र सफल नभएको भन्दै उहाँले इतिहासबाट सिकेर अघि बढ्ने पनि बताउनुभयो । साथै आफ्नो सरकारलाई हनिमुन पिरियड समेत नचाहिने उहाँको भनाइ थियो । उहाँले प्रत्येक सेकेन्ड गनेर काम गरिरहेको बताउनुभयो । साथै यो गतिलाई कर्मचारीतन्त्रले समेत समाउनुपर्ने उहाँको भनाइ थियो ।