सेवा प्रवाह सरल र भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउन गृहमन्त्री गुरूङको निर्देशन

चैत्र १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
सेवा प्रवाह सरल र भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउन गृहमन्त्री गुरूङको निर्देशन

काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरूङले सेवा प्रवाहलाई सहज बनाउँदै भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाउन निर्देशन दिनुभएको छ ।

गृह मन्त्रालयमा शुक्रबार पदबहाली गरेपछि कर्मचारीलाई निर्देशन दिँदै उहाँले भ्रष्टाचारीमाथि कठोर निर्णय लिने उद्घोष गर्नुभयो । उहाँले भन्नुभयो, “भ्रष्टाचारप्रति सुन्ने सहनशीलता हुन्छ कसैले घुस माग्यो भने त्यसलाई त्यत्तिकै छाडिँदैन ।”

आफू जनतालाई परिणाम दिनेगरी काम गर्न मन्त्रालयको नेतृत्वमा आएको उल्लेख गर्दै गृहमन्त्री गुरूङले एकद्वार प्रणालीबाट शीघ्र सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन निर्देशन दिनुभयो । कम बोल्ने र नतिजा देखाउनेमा आफू केन्द्रित हुने उहाँको उद्घोष छ ।

“सेवा प्रवाहलाई मुख्य प्राथमिकतामा राखिएको छ । १,२,३ वा क, ख, ग कोठा चाहार्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ, सेवाग्राहीसँग कर्मचारी ठोकिनु नपरोस् यसैबाट सुशासन ल्याउन सकिन्छ”, उहाँले भन्नुभयो । जेन-जीको जनादेशलाई कार्यान्वयन गर्न मन्त्रिपरिषद्‌बाट निर्णय भएपछि त्यसलाई सबैले आत्मसात् गर्नुपर्ने जनाउँदै उहाँले सरकारका निर्णय कार्यान्वयन गर्दिन भन्ने छुट कसैलाई नभएको स्पष्ट पार्नुभयो ।

निर्देशन सम्बोधनका क्रममा गृहमन्त्री गुरूङले अहिलेको परिवर्तन जेन-जी युवाको बलिदानमा सम्भव भएको उल्लेख गर्दै सहिदहरूको सम्झनामा एक मिनेट मौन धारण गर्न लगाउनुभएको थियो । त्यसअघि मन्त्रालयमा उहाँलाई गृहसचिव राजकुमार श्रेष्ठ नेपाल प्रहरीका महानिरीक्षक सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख एवं मन्त्रालयको उच्चपदस्थ कर्मचारीले स्वागत गर्नुभएको थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.