रास्वपा सांसदहरूको प्रतिबद्धता : जनआकांक्षा र सुशासनको क्षेत्रमा केन्द्रित भएर काम गर्छौं

चैत्र ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
रास्वपा सांसदहरूको प्रतिबद्धता : जनआकांक्षा र सुशासनको क्षेत्रमा केन्द्रित भएर काम गर्छौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसदहरूले जन अपेक्षा र सुशासनको क्षेत्रमा केन्द्रित भएर आफूहरूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बुधबार पार्टीका सांसदहरूको अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रममा सहभागी भएका उनीहरूले जनताको आकांक्षालाई सम्बोधन गर्ने र भ्रष्टाचारमुक्त मुलुक बनाउने कुरालाई आफूहरूले प्राथमिकताका साथ अघि बढाउने योजनाअघि सारेका हुन् । 

सांसद हरि ढकालले सुशासनका लागि मुहान नै सफा गरेर अघि बढने संकल्प आफूहरूले लिएको बताउनु भयो । उहाँले जनताको अपेक्षा पूरा गर्न पनि आफूहरूले धेरै काम गर्नुपर्ने अवस्था रहेको बताउनु भयो । यौनिक तथा अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्दै सांसद हुनुभएका भूमिका श्रेष्ठले पछाडि पारिएका सबै समुदायको हित प्रवर्द्धनमा आफूले काम गर्ने बताउनु भयो । उहाँले अल्पसंख्यक समुदायको आवाजलाई आफूले संसद्‌बाट मुखरित गर्ने योजना पनि सार्वजनिक गर्नुभयो ।

आफूहरूको ५ वर्षे कार्यकाल मुलुकमा विद्यमान भ्रष्टाचार नियन्त्रणका लागि केन्द्रित हुने सांसद आशिका तामाङको भनाइ छ । उहाँले भ्रष्टाचारको अन्त्य मात्रै भए मुलुकले ठूलो फड्को मार्ने जिकिर समेत गर्नुभयो । सांसद सागर ढकालले पार्टीले निर्वाचनको बेला सार्वजनिक गरेको वाचा पत्र कार्यान्वयनमा आफूले जोड दिनु बताउनु भयो । उहाँले जनताका सानासाना आकांक्षालाई पूरा गर्ने कुरालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने पनि बताउनु भयो ।

सांसद ढकालले मुलुकलाई अघि बढाउने ठूलो योजनाहरूमा पनि आफूहरूले काम गर्ने बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.