
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले देशको राष्ट्रिय स्वाधिनता र आत्मसम्मानमाथि गम्भीर चुनौती थपिएको बताउनुभएको छ ।
रोल्पामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले विदेशी प्रतिक्रियावादी र तिनका दलालहरूका विरूद्ध नयाँ एकता र शक्तिका साथ प्रतिवाद गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो । दाहालले रोल्पालाई नेपाली जनवादी क्रान्तिको किल्ला र ‘क्रान्तिको राजधानी’ को रूपमा चित्रण गर्नुभयो ।
आफू पहिलो पटक रोल्पाबाटै निर्वाचित भएर प्रधानमन्त्री बनेको स्मरण गर्दै उहाँले रोल्पाका जनताप्रति आफू सधैं ऋणी रहेको बताउनु भयो। उहाँले थप्नुभयो, ‘रोल्पाका जनताले इतिहास बनाउनुभयो र तपाईंहरूकै काखमा बसेर नै हामीले नेपालको जनवादी क्रान्तिलाई आधारभूत रूपले सफल पार्न सम्भव भयो ।’
राष्ट्रिय संकट र विदेशी हस्तक्षेपको चुनौती
वर्तमान राजनीतिक परिस्थितिलाई ‘असहज’ र ‘जटिल’ भन्दै दाहालले राष्ट्र निकै ठूलो अप्ठ्यारोमा परेको उल्लेख गर्नुभयो । जेन-जी युवाहरूको आन्दोलन र त्यसपछि भएका घटनाक्रमले निर्वाचनको वातावरण असहज बनाएको उहाँको तर्क छ ।
रुकुम पूर्वबाट उम्मेदवारीको रहस्य
यसपटक रूकुम पूर्वबाट प्रत्यक्ष निर्वाचन लड्नुको पछाडि राष्ट्र बचाउने नयाँ अभियानको उद्देश्य रहेको उहाँले प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘म रूकुममा मात्र उम्मेदवार भएको होइन, यो रोल्पा, सल्यान र जाजरकोटसहितको केन्द्रीय आधार इलाकाको प्रतिनिधित्व हो । यहाँबाट सुरू हुने अभियानले देशभरि सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक समृद्धिको नयाँ सन्देश दिनेछ ।’
उहाँले विगतमा निरंकुश राजतन्त्रका विरुद्ध युद्धको उद्घोष गर्दा पनि रोल्पा-रुकुमबाटै सुरू गरिएको स्मरण गर्दै आजको संकट समाधान गर्न पनि यही आधार इलाकाको साथ आवश्यक रहेको बताउनु भयो ।
समाजवादतर्फको नयाँ यात्रा र अपील
दाहालले सुशासन, सामाजिक न्याय र समृद्धिको नयाँ यात्रामार्फत समाजवादतर्फ अगाडि बढ्न सबैलाई अपील गर्नुभयो । विदेशी हस्तक्षेपको प्रतिवाद गर्न नेपाली जनता नयाँ एकताका साथ तयार रहेको सन्देश विश्वभर पुर्याउनु पर्नेमा उहाँले जोड दिनुभयो ।
‘प्रतिक्रियावादीहरूले हाम्रो आत्मसम्मानमा प्रहार गरे भने हामी नयाँ शक्तिका साथ उठ्नेछौं ।’ उहाँले दृढता व्यक्त गर्नुभयो । ‘विश्वभर रहेका नेपालीहरूलाई पनि फेरि एकचोटी नयाँ एकताका साथ नयाँ संकल्प र आत्मविश्वासका साथ अभियान छेड्नका लागि हामी यहाँ छौं ।’ उहाँले भन्नुभयो ।
राष्ट्रलाई संकटबाट मुक्त गर्न आगामी निर्वाचनलाई एउटा महाअभियानको रूपमा सफल पार्न अपील गर्नुभयो । उहाँले शहीदहरूको बलिदानबाट प्राप्त उपलब्धीहरूको रक्षा गर्दै समाजवादको नयाँ यात्रा आरम्भ गर्ने संकल्प व्यक्त गर्नुभयो ।
अधिकारको रक्षा र शासकीय स्वरूपमा सुधार
दाहालले जनयुद्ध र जनआन्दोलनमार्फत महिला, दलित र उत्पीडित समुदायले प्राप्त गरेका अधिकारहरूलाई अझ परिमार्जित र विकसित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीले सुरूदेखि नै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको कुरा गर्दै आएका छौं । त्यो अझै पूरा भएको छैन। हामीले निर्वाचन प्रणाली यस्तो खर्चिलो र महङ्गो खोजेकै होइन । पूर्ण समानुपातिक निर्वाचन प्रणालीमार्फत आम नेपाली जनताको अभिमतलाई सम्मान गर्न बाँकी छ ।’
स्वच्छ निर्वाचन र राष्ट्रिय एकताको आवश्यकता
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नुपर्ने बताउँदै दाहालले सुरक्षा निकाय, राजनीतिक दल र कर्मचारीतन्त्रलाई राष्ट्र बचाउने कामलाई उच्च प्राथमिकता दिन आग्रह गर्नुभयो । उहाँले हालैका केही घटनाक्रमले जनतालाई चिन्तित बनाएको उल्लेख गर्दै निर्वाचन नै निकासको उत्तम विकल्प भएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो सुरक्षा निकाय प्रति भरोसा छ । सेना र प्रहरी प्रति भरोसा छ । राष्ट्र बचाउने संकल्प गरौं र यो निर्वाचनलाई स्वच्छ निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गरौं । हामी यसपटक हतियार होइन, मतपत्रको तागत लिएर सिंहदरबार छिर्नेछौं र नयाँ समाजवादी अभियान चलाउनेछौँ ।’
भ्रष्टाचार विरुद्धको लडाइँ र नयाँ कम्युनिष्ट एकता
आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचारविरूद्ध र सामाजिक न्यायका पक्षमा अभियान छेडेको तर दलाल र बिचौलियाहरूले त्यसलाई सहन नसकी सरकारबाट हटाएको उहाँको आरोप छ । दाहालले भन्नुभयो, ‘अहिले दुई दर्जनभन्दा बढी देशभक्त र क्रान्तिकारी कम्युनिष्टहरू मिलेर ‘नेपाली कम्युनिष्ट पार्टी’ बनाएका छौं । यो नयाँ तागतले प्रतिक्रियावाद र भ्रष्ट शासनलाई भत्काउनेछ ।’
रोल्पाबाट समाजवादको नयाँ संकल्प
रोल्पा र रूकुमलाई क्रान्तिको आधार इलाका मान्दै दाहालले यहाँबाटै समाजवादी नेपाल निर्माणको संकल्प दोहोर्याउनु भयो । उहाँले रोल्पाका उम्मेदवार वर्षमान पुनलाई अत्यधिक बहुमतले विजयी गराउन अपील गर्दै भन्नुभयो, ‘वर्षमानलाई के गर्न पर्छ मेरो जिम्मा छोडदिए हुन्छ । उहाँले यो राष्ट्रको निम्ति यहाँको जनताको निम्ति यहाँ समाजवादको नयाँ यात्रा आरम्भ गर्नको निम्ति धेरै जिम्मेवार भएर काम गर्नुहुनेछ ।’
दाहालले आफ्नो पार्टी आगामी निर्वाचनमा पहिलो शक्ति बन्ने सम्भावना रहेको दाबी गर्दै देशभरका क्रान्तिकारी र जनतालाई एकजुट हुन आह्वान गर्नुभयो । उहाँले जीवनको उत्तरार्धमा एकचोटी फेरि नयाँ अभियानका लागि जनताबाट शक्ति प्राप्त गर्न देशव्यापी अभियानमा रहेको बताउनु भयो ।