मलाई प्रयोग गरेर गगनलाई हान्ने प्रयास भयो : अर्जुननरसिंह केसी

चैत्र २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
मलाई प्रयोग गरेर गगनलाई हान्ने प्रयास भयो : अर्जुननरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं समानुपातिक सांसद अर्जुननरसिंह केसीले ससुरा-ज्वाइँको ट्याग भिराएर आफू र पार्टी सभापति गगनकुमार थापामाथि प्रहार गर्न खोजिएको आरोप लगाउनुभएको छ ।

आफूलाई पार्टी सभापति थापाको ससुरा भएकै कारण अवसर पाएको भनि हुने गरेका टिप्पणीले आफूलाई फरक नपर्ने बताउनुभएको हो । वि.स २०१७ पुस १ गते राजा महेन्द्रले गरेको ‘कू’ विरूद्ध पर्चा बाँड्दै गर्दा आफूले जेल जीवन सुरू गरेको र पार्टी जीवनमा आफ्नो छुट्टै पहिचान भएको उहाँको दाबी छ । 

उहाँले पार्टी निर्माण र लोकतन्त्र संस्थागत गर्न आफूले गरेको योगदानबारे थाहा नभएकाहरूले सभापति थापाको ससुराको रूपमा मात्र चिन्ने गरेको भन्दै तिनीहरूलाई जवाफ दिइरहनुनपर्ने बताउनु भयो । उहाँले पशुपति दर्शन छिद्राको व्यापार भनेजस्तै आफ्नो नाम सभापति थापासँग जोडेर हुने गरेको टिकाटिप्पणीहरू बनिबनाउ षड्यन्त्र भएको बताउनु भयो । 

उहाँले नेपाली कांग्रेसभित्रै बाट आफ्नो पहिचान गगन थापाको ससुराको रूपमा मात्र सिमित गर्ने प्रयास गरिएको भन्दै आपत्ति समेत जनाउनु भयो । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, नेतृ शैलजा आचार्य र पूर्वप्रधानमन्त्री सुशील कोइरालासहितको प्रसंग निकाल्दै केसीले पार्टीमा कयौँ नेताहरूले आफ्नै योगदानका आधारमा भूमिका पाएको भन्दै पारिवारिक सम्बन्धलाई मात्र आधार बनाएर आलोचना गर्नु उचित नहुने बताउनु भयो ।

पार्टी निर्माण र व्यवस्था पुनःस्थापनाका लागि आफूले गरेको योगदानबारे सबैलाई जानकारी गराएर सञ्चारकर्मीहरूले आफूलाई न्याय गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले आफू रूपान्तरण र पुस्तान्तरणको वकालत गर्ने भएकै कारण विशेष अधिवेशनको पक्षमा उभिएको दाबी समेत गर्नुभयो । उहाँले कांग्रेस बदलिएको हेर्न नचाहनेहरूले आफूमार्फत सभापति थापामाथि प्रहार गर्न खोजेको भन्दै त्यसले केही फरक नपर्ने बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.