
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं रोल्पाका प्रतिनिधि सभा सदस्य उम्मेदवार वर्षमान पुनले रोल्पामा आफ्नो पार्टीको विजय सुनिश्चित भइसकेको दाबी गर्नुभएको छ ।
चुनावी अभियानका क्रममा रोल्पाका ७२ वटै वडामा पुग्दा देखिएको जनलहरले विपक्षीहरूलाई चुनौती दिएको उहाँले बताउनुभएको हो । पुनले चुनावी मैदानमा रहेका सबै उम्मेदवारहरूसँग स्वस्थ र मर्यादित प्रतिस्पर्धा गर्न चाहेको बताउनु भयो ।
‘हामी वैचारिक प्रतिस्पर्धा गर्न चाहन्छौँ । लोकतान्त्रिक मूल्य मान्यतामा उभिएर शान्तिपूर्ण ढंगले सहकार्य गरेका छौँ ।’ उहाँले भन्नुभयो,‘जनताको बिचमा जान पाउनु १० वर्षको जनयुद्ध र जनआन्दोलनबाट हासिल भएको लोकतान्त्रिक अधिकार हो ।’
सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा उभिने संकल्प
देशको वर्तमान राजनीतिक अवस्थाको चर्चा गर्दै पुनले सुशासन र समृद्धिको एजेन्डालाई मुख्य प्राथमिकतामा राखेको बताउनु भयाे । उहाँले भन्नुभयो, ‘एकातिर सिंहदरबार जलाउने र देश विध्वंश गर्नेहरु छन् भने अर्कोतिर जेन–जी आन्दोलनकारी नवयुवाहरुको शान्तिपूर्ण मागमाथि गोली चलाउने र दमन गर्नेहरु छन् । हामी यी दुवै प्रवृत्तिका विरुद्धमा छौँ ।’
उहाँले पार्टीका संयोजक पुष्पकमल दाहाल नेतृत्वको १८ महिनाको सरकारले भ्रष्टाचारका ठूला फाइलहरू खोल्दा विचौलिया र भ्रष्टाचारलाई संस्थागत गर्नेहरुले सरकार ढालेको आरोप समेत लगाउनु भयो । युवाहरुले स्वदेशमै रोजगारी पाउनुपर्ने आफूहरुको स्पष्ट अडान रहेको उहाँले बताउनु भयो । उहाँले आफूहरु सुशासन, शान्ति र समृद्धि र राष्ट्रिय स्वाधिनताको पक्षमा रहेको बताउनु भयो ।
‘हामी सुशासन, शान्ति, समृद्धि र राष्ट्रिय स्वाधिनताको पक्षमा छौँ । युवाहरुले स्वदेशमै रोजगारी पाउनुपर्छ भन्ने हाम्रो स्पष्ट अडान छ ।’ उहाँले भन्नुभयो ।
नयाँ विचार र नेतृत्वसहितको नेपाली कम्युनिष्ट पार्टी
२५ वटा पार्टीहरू मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी विचार, राजनीति र नेतृत्वका हिसाबले नयाँ पार्टी भएको पुनको दाबी छ । उहाँले गणितीय रूपमा कमजोर हुँदा दुई ठूला पार्टीहरुले अप्राकृतिक गठबन्धन गरेको भन्दै अबको निर्वाचनबाट आफ्नो पार्टी निर्णायक शक्ति बन्ने विश्वास व्यक्त गर्नुभयो ।
जेन–जीका भावना र राष्ट्रिय स्वाधीनताको एजेन्डा
नयाँ पुस्ताको भावनालाई सम्बोधन गर्नु आफ्नो पार्टीको मुख्य लक्ष्य रहेको पुनले बताउनु भयो । ‘हामी जनताको जनमतबाट जेन-जीका सकारात्मक माग र भावनाहरुलाई सम्बोधन गर्छौं । राष्ट्रियता, समृद्धि र सुशासनका एजेन्डाहरुलाई अगाडि बढाउने सामथ्र्य हामीसँग छ ।’ उहाँले भन्नुभयो ।
निर्वाचनमार्फत देशको सबैभन्दा ठूलो र निर्णायक पार्टी हुने हैसियत आफ्नो पार्टीले राख्ने उहाँको जिकिर छ ।
रोल्पाको विकासको प्रमाण र समाजवादको मोडल
रोल्पाको विकासमा विगत २० वर्षमा आफ्नो पार्टीले गरेको योगदानको चर्चा गर्दै पुनले सडक, बिजुली, खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका कामहरु नै आफ्नो विजयको आधार भएको बताउनु भयो । ‘हामीले के गर्यौं भन्ने कुराको प्रमाण रोल्पाका गाउँगाउँमा छन् । कृष्णबहादुर महरा, ओन्सरी घर्तीलगायतका नेताहरुले सुरु गरेका कामलाई म निरन्तरता दिनेछु ।’ उहाँले प्रतिबद्धता जनाउनु भयो ।
उहाँले रोल्पालाई अब केवल क्रान्तिको थलो मात्र नभइ समृद्धि, विकास र सुशासनको एउटा ‘मोडल’ बनाएर समाजवादतिर उन्मुख गराउने संकल्प गर्नुभयो । रोल्पाली जनताको स्वाभिमानलाई उच्च बनाउनु र रोल्पालाई समृद्धिको नमूना बनाउनु आफ्नो र नेकपाको मुख्य प्रतिबद्धता भएको उहाँले बताउनु भयो ।