
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता एवं रूकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार जनार्दन शर्माले रूकुमलाई विकास, सुशासन र समृद्धिको एउटा राष्ट्रिय नमूना बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
रूकुम पश्चिममा उज्यालो नेपाल पार्टीका उम्मेदवार नरेन्द्र केसीले आफूलाई समर्थन गर्न आयोजित पत्रकार सम्मेलनका क्रममा उहाँले यस्तो बताउनुभएको हो । शुक्रबार बिहान पत्रकार सम्मेलन गर्दै केसीले शर्मालाई समर्थन गरेको घोषणा गर्नुभयो ।
रूकुमको समग्र विकासमा टेवा पुर्याउन समर्थन गरेको उहाँको दाबी छ । एमालेले पनि शर्मालाई समर्थन गरिसकेको छ । प्रलोपाका शर्मा, नेपाली कांग्रेसका राजु केसी, नेपाली कम्युनिष्ट पार्टीका गोपाल शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीका मानबहादुर शाही निर्वाचनको मैदानमा हुनुहुन्छ ।
नेता शर्माले जिल्लाको सर्वाङ्गीण विकासका लागि आफू स्पष्ट खाकासहित निर्वाचनमा होमिएको बताउनु भयो । आफ्नो चुनावी एजेन्डाबारे प्रष्ट पार्दै शर्माले रूकुम पश्चिमलाई गरिबी र बेरोजगारीबाट मुक्त गराउने संकल्प दोहोर्याउनु भयो । उहाँले आम मतदाताहरूलाई सम्बोधन गर्दै विकास र समृद्धिको पक्षमा उभिन आग्रह गर्नुभयो ।
निर्वाचनको सरगर्मी बढिरहँदा नेता शर्माले आफूलाई कुनै एउटा दल विशेषको मात्र नभइ सम्पूर्ण रूकुमेलीहरूको ‘साझा उम्मेदवार’ भएको बताउनु भयो । विगतमा सबै राजनीतिक शक्तिहरूलाई समन्वय गरेर परिणाममुखी काम गरेको उहाँले दाबी गर्नुभयो ।
नेता शर्माले रूकुम पश्चिमको रूपान्तरणका लागि आफ्नो उम्मेदवारी अपरिहार्य रहेको जिकिर गर्दै मतदाताहरूलाई विकासको पक्षमा एकजुट हुन आग्रह गर्नुभयो । रूकुमलाई आर्थिक रूपमा सम्पन्न र सामाजिक रूपमा न्यायपूर्ण बनाउने आफ्नो एजेन्डा नै जितको मुख्य आधार रहेको उहाँको ठहर छ ।
यता, उज्यालो नेपाल पार्टीका तर्फबाट उम्मेदवार रहनुभएका नरेन्द्र केसीले आफ्नो उम्मेदवारी निष्क्रिय बनाउँदै प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मालाई समर्थन गर्ने घोषणा गर्नुभयो । केसीले मतदाताहरूको सुझाव र रूकुमको वृहत्तर हितका लागि आफूले यो निर्णय लिएको बताउनु भयो ।
केसीले रूकुमलाई समृद्ध बनाउने एजेन्डाहरू कुनै व्यक्ति विशेषको नभइ साझा भएको स्पष्ट पार्नुभयो । उहाँले अन्य साना दल र स्वतन्त्र उम्मेदवारहरूलाई पनि शर्माको पक्षमा उभिन आह्वान गर्नुभयो । केसीले शर्मालाई ‘साझा नेतृत्व’ को रूपमा स्वीकार गर्दै रूकुमको विकासका लागि सबै शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।