धादिङ निर्वाचन : कस्ता एजेण्डा लिएर घरदैलोमा जाँदैछन् उम्मेदवार ?

फाल्गुन ७, २०८२ |पोषनाथ अधिकारी
धादिङ निर्वाचन : कस्ता एजेण्डा लिएर घरदैलोमा जाँदैछन् उम्मेदवार ?

धादिङ । मतदानको मिति नजिकिँदै जाँदा धादिङमा पनि निर्वाचनको चहलपहल बढेको छ । सदरमुकाम रहेको निर्वाचन क्षेत्र नम्बर–२ मा सबै दलका उम्मेदवार घरदैलोमा व्यस्त छन् । सबै आ–आफ्ना एजेण्डा लिएर मतदाताको रिझाउन व्यस्त छन् ।

निर्वाचनको मिति नजिकिएसँगै धादिङ निर्वाचन क्षेत्र नं. २ मा पनि चुनावी सरगर्मी बढ्दै गएको छ । यहाँ २४ जना उम्मेदवार मैदानमा छन् । जसमध्ये ८ जना स्वतन्त्र उम्मेदवार छन् ।

तर प्रतिस्पर्धा भने मुख्य दलका उम्मेदवारबीच नै हुने देखिएको छ । २०६४ यता तत्कालीन नेकपा माओवादीले एक, एमालेले २ र नेपाली कांग्रेसले एक पटक जितेको यो निर्वाचन क्षेत्रमा यस पटक नयाँ दलका रुपमा आएको रास्वपा पनि प्रतिस्पर्धी देखिएको छ । चुनावी मैदानमा रहेका सबै उम्मेदवारले आफूलाई बलियो प्रतिस्पर्धीका रुपमा प्रस्तुत गरिरहेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार रमेश धमला पूर्व जिल्ला सभापति भइसकेका नेता हुनुहुन्छ । कांग्रेसको संगठनात्मक संरचना यो क्षेत्रमा बलियो मानिन्छ । २०७९ सालको स्थानीय तह निर्वाचनमा ६ स्थानीय तहमा जितेकाले पनि कांग्रेसले आफ्ना उम्मेदवारले जित्न दावी गरिरहेको छ । यता, एमालेका उम्मेदवार धनबहादुर घले २०७० मा धादिङ–१ बाट निर्वाचित संविधानसभा सदस्य हुनुहुन्छ । २०६४ यताका २ निर्वाचन एमालेले जितेको र अन्य दलमा आएको फुट गुटले आफ्नो दललाई थप सहज हुने एमालेले तर्क अघि सारेको छ ।

यता नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रामबहादुर भण्डारी पनि यसअघि कुनै लाभको पदमा नपुगेकाले मतदाताले आफूलाई रोज्ने दावी गरिरहनुभएको छ । रास्वपाका उम्मेदवार बोधनारायण श्रेष्ठको पनि विगतको आफ्नो सामाजिक अभियानले मतदाता आकर्षित गर्ने रणनीति देखिन्छ ।

२०७९ सालको निर्वाचन परिणामलाई हेर्दा यो क्षेत्रमा कांग्रेस र माओवादीको संयुक्त गठबन्धन बलियो देखिएको थियो । तर, २०७४ को निर्वाचनमा भने एमाले र माओवादीको वाम गठबन्धनबाट एमालेले नै बाजी मारेको थियो ।

गत निर्वाचनको समानुपातिक मत परिणामअनुसार कांग्रेस २० हजार ९ सय ५७ मतका साथ अग्रस्थानमा छ । एमाले १६ हजार २ सय ७५, माओवादी ११ हजार ४ सय ९४ र रास्वपाको ५,६२८ मतसहित चौथो स्थानमा थिए ।

धादिङका चिया पसलदेखि चौतारीसम्म यिनै ४ दल र उम्मेदवारमध्ये कसले बाजी मार्ला भन्ने चर्चा बढिरहेकै छ । निर्वाचनको मत परिणामका लागि भने अझै केही दिन कुर्नैपर्ने छ ।


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।