‘स्टन्टबाजी’ को भ्रम चिरेर चुनावी मैदानमा होमिन संयोजक दाहालको निर्देशन

माघ २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘स्टन्टबाजी’ को भ्रम चिरेर चुनावी मैदानमा होमिन संयोजक दाहालको निर्देशन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सञ्जालमा हुने प्रचार र वास्तविक धरातलको अवस्था फरक रहेको बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले हालैका दिनमा देखिएको ‘स्टन्ट’ र ‘हल्ला’ को प्रभाव जनताले बुझिसकेको उल्लेख गर्दै पार्टीका नेता तथा कार्यकर्ताहरूलाई तर्कसहित त्यसको खन्डन गर्न र आगामी निर्वाचनमा केन्द्रित हुन निर्देशन दिनुभयो । 

पूर्वप्रधानमन्त्री दाहालले सामाजिक सञ्जालको भरमा गरिने राजनीतिलाई ‘स्टन्टबाजी’ को संज्ञा दिँदै फिल्डमा त्यस्तो प्रभाव नरहेको स्पष्ट पार्नुभयो । उहाँकाअनुसार जहाँ पहिला त्यस्ता शक्तिहरूले जितेका थिए, त्यहाँ अहिले उनीहरूको प्रभाव ओरालो लागेको छ । 

नयाँ स्थानहरूमा भ्रम दिन सजिलो हुने भए पनि जनताले नेताहरूको काम र क्षमताको मूल्याङ्कन गरिसकेको उहाँको भनाइ छ । दाहालले उपत्यका लगायतका क्षेत्रमा पुराना र अनुभवी नेताहरूलाई जनताले हेरिसकेको र अब स्टन्टबाजहरूको हल्लाखोर प्रवृत्तिको भ्रम मुक्त भइसकेको दाबी गर्नुभयो । 

जहाँ जनताले अझै कुरा बुझ्न पाएका छैनन्, त्यहाँ मात्र यस्ता प्रचारको प्रभाव देखिएको भन्दै उहाँले कम्युनिष्ट कार्यकर्ताहरूलाई ती भ्रमहरूलाई तर्कद्वारा चिर्न आग्रह गर्नुभयो । राजनीतिक संकटको समाधानका लागि निर्वाचन नै एक मात्र वस्तुवादी र वैज्ञानिक बाटो भएको दाहालको तर्क छ । आज सिंगो राष्ट्र यहि विचारमा सहमत भएको भन्दै उहाँले यसलाई पार्टीको बुझाइको जितका रूपमा व्याख्या गर्नुभयो ।

संयोजक दाहालले आगामी २४-२५ दिन निकै महत्वपूर्ण रहेको बताउँदै सबै नेता तथा कार्यकर्तालाई पूर्ण मिहिनेतका साथ चुनावी परिणाम आफ्नो पक्षमा पार्न र पार्टीलाई एक नम्बर बनाउने संकल्प गर्न निर्देशन दिनुभयो । उहाँले चुनौतीपूर्ण अवसरलाई सदुपयोग गर्दै देश जोगाउने र राजनीतिलाई सहजीकरण गर्ने भूमिकामा पार्टी सधैँ अगाडि रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.