
धनुषा । नेपाली खेलकुदको विकासमा कुनै समय अग्रणी भूमिका खेलेको जनकपुरमा अहिले खेल गतिविधि ब्यूँतिदै गएका छन् । विगतमा खेलकुद गतिविधि सेलाए पनि लामो प्रयासपछि अन्तर्राष्ट्रियस्तरको बहुउद्देश्यीय रङ्गशाला निर्माण हुने भएपछि फेरि जनकपुरको खेल गतिविधि लयमा फर्किनेमा खेलप्रेमी आशावादी छन् । यसका लागि प्रदेश सरकार पनि गम्भीर देखिएको छ ।
प्राचिन मिथिला र वर्तमान मधेश प्रदेशको राजधानी धार्मिक तथा सांस्कृतिक शहर जनकपुरधाममा रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणका लागि प्रस्तावित यो जग्गा हो । जनकपुरको रजौलमा १७ बिघा जग्गामा घेराबेरा लगाइएको यो स्थानमा अहिले दिनप्रतिदिन खेलकुद गतिविधि बढ्दो छ । प्रदेश, जिल्ला र पालिका स्तरीय खेलकुद प्रतियोगिता निरन्तर आयोजन हुँदै आएको छ । खेलप्रति रुचि राख्ने युवा यहाँ नियमित अभ्यासमा जुट्ने गर्छन् ।
राम रामजानकी बहुउद्देश्यीय रंगशाला निर्माणका लागि ९ अर्ब २५ करोडको लागत अनुमान छ । प्रथम चरणमा क्रिकेट र फुटबल रंगशाला, कवर्ड हल, लङ टेनिस कोर्टलगायत निर्माणका लागि २ अर्ब ७५ करोड आवश्यकता रहेको छ । रंगशाला निर्माणका लागि अपुग रकम संघीय सरकारसँग माग गर्ने निर्णय मधेश प्रदेश सरकारले यसअघि नै गरिसकेको छ ।
२०७५ वैशाख २७ गते जनकपुरधाम भ्रमणमा आउनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको सय करोड भारतीय रुपैयाँको सहयोग पनि रामजानकी बहुउद्देश्यीय रंगशाला निर्माणमा खर्चिन संघ, प्रदेश र स्थानीय सरकार पनि सहमत छन् । प्रस्तावित जग्गामा राष्ट्रिय खेलकुद परिषद्ले ८ वर्षअघि नै गुठी संस्थानसँग १७ बिघा जग्गा भाडामा लिएर घेराबेरा लगाइसकेको छ । पछिल्लो समय गुठी संस्थानले परिषदसँग करार सम्झौता भंग गर्ने चेतावनी दिएपछि मधेश प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालयले अग्रसरता लिएको छ ।
सुदूरपश्चिम प्रदेशपछि ११औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको मधेश सरकारको रंगशालालगायत आवश्यक पूर्वाधारको तयारी गर्नुपर्ने बाध्यता छ । मधेश सुगम मानिए पनि खेलकुदको विकासका लागि भने भौतिक पूर्वाधारमा कमजोर छ । जनकपुर बोल्टसले प्रथम एनपीएल जितेपछि मधेशमा क्रिकेटप्रति युवाहरुको क्रेज बढेपनि हकी, कबड्डी, फुटबललगायत अन्य खेलको अवस्था भने सन्तोषजनक छैन ।