प्रतिनिधिसभा निर्वाचनका लागि २८ दिन बाँकी, ५५ क्षेत्रका लागि ६० लाख मतपत्र छापियो

निर्वाचन प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैंक खातामार्फत गर्नुपर्ने
माघ २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रतिनिधिसभा निर्वाचनका लागि २८ दिन बाँकी, ५५ क्षेत्रका लागि ६० लाख मतपत्र छापियो

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि २८ दिन बाँकी रहेको छ । दलहरुको चुनावी गतिविधि बढेको छ भने निर्वाचन आयोगले तयारीलाई तिब्र गतिमा अघि बढाएको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले प्रत्यक्ष प्रणालीतर्फ ५५ निर्वाचन क्षेत्रका लागि ६० लाख मतपत्र छापिसकेको छ । समानुपातिक मतपत्रको छपाइ पहिल्यै सकिएको र ११ फागुनभित्र सबै मतपत्र छापिसक्ने तयारी आयोगले गरेको छ। मतपत्र ढुवानीका लागि सुरक्षा व्यवस्थासहित तयारी भइरहेको छ भने हिमाली जिल्लामा सेनाको हेलिकप्टर प्रयोग गरिनेछ।

निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार १ सय ६५ निर्वाचन क्षेत्रमध्ये हिजो रातिसम्म ५५ निर्वाचन क्षेत्रका लागि ६० लाख मतपत्र छापिएको छ। समानुपातिकको मतपत्र छपाइ १२ माघमा सकिएपछि प्रत्यक्षतर्फको मतपत्र छाप्न थालिएको हो।

यसैबीच आयोगले निर्वाचन प्रचार–प्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२ जारी गरेको छ । आमनिर्वाचनका क्रममा हुने राजनीतिक दल तथा उम्मेदवारको प्रचार–प्रसार खर्चलाई पूर्ण रूपमा बैंकिङ प्रणालीमा आबद्ध गराउने उद्देश्यसहित कार्यविधि जारी गरेको हो ।

आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा भाग लिनका लागि सबै राजनीतिक दल, ती दलबाट प्रतिनिधित्व गर्ने उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरूले प्रचार–प्रसारका लागि प्राप्त गर्ने आर्थिक सहयोग, चन्दा तथा सम्पूर्ण खर्च यही विशेष बैंक खातामार्फत गर्नुपर्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.