
आगामी निर्वाचनमा कृषि, सडकका साथै रोजगार सुनिश्चित जसले गर्न सक्छ त्यस्तो उम्मेदवार यहाँ आउनुपर्छ ।” आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरीका मतदाता यसपटक कृषि, पूर्वाधार र रोजगारीलाई मुख्य मुद्दा बनाएका छन् । भोक्राहा नरसिंह गाउँपालिका–३ का अर्का युवा मतदाता राजु मण्डल भन्नुहुन्छ, “युवाले आफ्नै देशमा रोजगारी नपाउँदा दैनिक जसो विदेश जान बाध्य हुनु परेको छ ।
अबका उम्मेदवारले कृषि क्षेत्रका वास्तविक समस्या समाधान गर्नसक्नु पर्छ ।” किसानका लागि सरकारले घोषणा गरेका सुविधा अधिकांश वास्तविक किसानसम्म पुग्दैन । भोक्राहा–६ का ५८ वर्षीय बिहारीराम चमारले भन्नुभयो, “पटक–पटक भोट दियौँ, तर गाउँमा भने जस्तो विकास हुन सकेन ।” कृषि, सडक र आधारभूत सेवामा सुधार गर्नुपर्ने मुख्य प्राथमिकता छ ।
अबको उम्मेदवारले किसानका समस्या समाधानमा जोड दिनुपर्ने उहाँको भनाइ छ । सुनसरीमा पाँच लाख ८० हजार ९४५ जना मतदाता कायम छन् । जिल्लाका १२ स्थानीय तहमध्येबाट दुई लाख ९४ हजार २५२ पुरुष, दुई लाख ८६ हजार ६९१ महिला र दुई जना तेस्रोलिङ्गी मतदाता कायम छन् । चार निर्वाचन क्षेत्र तोकिएको जिल्लाभर जम्मा १६७ मतदानस्थल र ६२४ मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन कार्यालयका प्रमुख कृष्ण पौडेलले जानकारी दिनुभयो ।