
काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सुध्रिनसके नेपाली कांग्रेसले कसैको वैशाखी टेक्न जरूरी नरहेको बताउनुभएको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कांग्रेस सुध्रिन नसके चारैतिर चुनौती नै चुनौती रहेको टिप्पणी गर्नुभयो । उहाँले सुध्रिएर जनतामाझ जानसके तल्लोस्तरसम्म संगठन भएको कांग्रेसलाई कसैको वैशाखी टेक्न जरूरी नरहेको बताउनु भयो । कांग्रेस आफैं लोकतन्त्रको संरक्षक, संवाहक भएको उहाँले जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामी सुध्रिएनौँ भने त चारैतिर चुनौती नै चुनौती छ । हामी सुध्रियौँ भने गाउँगाउँसम्म संगठन छ, इतिहासमा गरेका योगदान, विकासका कुराहरूलाई अब सुधार गर्छौं भनेर जाँदा जुनसुकै शक्ति आए पनि कांग्रेसले कसैको वैशाखी टेकेर हिँड्नुपर्दैन । कांग्रेस आफैं लोकतन्त्रको संरक्षक, संवाहक हो ।’
कांग्रेस नेता रामनाथ अधिकारीले पुस महिनाभित्र केन्द्रीय महाधिवेशन गरिसक्नुपर्ने भए पनि केही समय सर्नसक्ने अवस्था रहेको बताउनु भयो । उहाँले क्रियाशील सदस्यता टुंग्याएर छिटो महाधिवेशन गर्नुपर्ने बताउनु भयो । छिटो महाधिवेशन गर्न आफ्नो जोडबल रहने समेत उहाँले बताउनु भयो ।
नेता अधिकारीले आगामी निर्वाचन नलड्ने घोषणा गरे पनि पार्टी राजनीतिमा आफू सक्रिय रहने बताउनु भयो ।