
काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहबीच भएको एकतालाई अन्यथा लिन नहुने बताउनुभएको छ ।
उहाँले एजेन्डा मिल्दा एकीकरण हुने र नमिल्दा छुट्टिने कुरालाई समान्य रूपमा लिनुपर्ने बताउनु भयो । लोकतान्त्रिक प्रक्रियामा राजनीतिक दलहरू मिल्ने र विभाजन हुने कुरालाई अनौठो मान्न नहुने उहाँको भनाइ छ । उहाँले आगामी निर्वाचनलाई लक्षित गरेर रास्वपा र प्रमुख साहले पनि एकताको घोषणा गरेको उल्लेख गर्नुभयो ।
उहाँले नेपालको लोकतान्त्रिक प्रक्रियालाई पारदर्शी र स्वच्छ बनाउन, खण्डित भएको संवैधानिक प्रक्रियालाई सही बाटोमा ल्याउन र स्थायी शान्तिमार्फत दिगो विकासको योजनालाई अगाडी बढाउन राजनीतिक प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यसको लागि नेकपा एमाले तयार रहेको उहाँको भनाइ छ । उहाँले पवित्र उद्देश्यले भदौमा भएको जेन-जी आन्दोलनलाई रास्वपा र बालेन्द्र साहले सत्तास्वार्थको लागि हाइज्याक गर्न खोजेको भन्दै जेन-जी अगुवाहरूलाई सजक रहन पनि आग्रह गर्नुभयो ।
उपमहासचिव भट्टराईले एमाले आगामी निर्वाचनमा बहुमत ल्याउनेगरी तयारीमा लागेको पनि बताउनु भयो । उहाँले हाल पार्टीमाथि चौतर्फी आक्रमण भएको उल्लेख गर्नुहुँदै आन्तरिक पार्टी एकतलाई बलियो बनाउनेगरी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह समेत गर्नुभयो । उहाँले चुनावको तयारीको लागि पार्टीभित्रका आन्तरिक मतभेदहरूलाई थाँती राखेर सबै एकजुट हुन आवश्यक रहेको बताउनु भयो ।