
काठमाडौै । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची बुझाउने मिति पुस १३ र १४ गतेका लागि तोकेको छ । सोहीअनुसार आयोगमा दर्ता भएका दलहरुले सूची छनोटलाई तीब्रता दिइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीमा बिहीबारदेखि उम्मेदवारका ४ सय आकांक्षीले आ-आफ्ना प्रस्तुति दिन थालेका छन् । त्यसपछि प्राइमरी इलेक्सन, लिडरसिप एकेडेमीलगायतबाट अंकका आधार अन्तिम सूची तय गरिने रास्वपाले जनाएको छ ।
नेपाली कांग्रेसले जातीय विभेद, घरेलु हिंसा, बाल श्रम वा अन्य कुनै पनि प्रकृतिका सामाजिक विसंगतिमा दोषी ठहर भएका व्यक्ति उम्मेदवार बन्न अयोग्य हुने मापदण्ड बनाएको थियो । सोहीअनुसार सिफारिस गर्न पार्टीले तल्ला कमिटीलाई निर्देशन दिएको थियो । सबै जिल्लाबाट सूची आइसकेकाले अब केन्द्रीय कार्यसम्पादन समितिले टुंगो लगाउने कांग्रेसले जनाएको छ ।
निवार्चनभन्दा पनि प्रतिनिधिसभा पुनस्थापनको वकालत गर्दे आएको नेकपा एमालेले समेत तोकिएकै मितिमा बन्द सूची बुझाउने तयारी गरेको छ । एमालेले सबै जिल्ला अध्यक्षलाई आकांक्षीहरुको नाम पठाउन भनेको थियो । अब समानुपातिकतर्फको बन्दसूची बुझाउने प्राविधिक तयारीसमेत पुरा गरिसकेको र विगतमा अवसर पाए-नपाएको हेरेर उम्मेदवार बनाउने एमालेको निर्वाचन आयोगले जनाएको छ ।
नेपाली कम्युनिष्ट पार्टीले पनि संविधान तथा कानुनले तोकेबमोजिम महिला, दलित, जनजातिलगायतका क्लस्टरलाई ध्यान दिँदै सिफारिस गर्न भनेको थियो । त्यस्तै शहीद परिवार, बेपत्ता परिवार, द्वन्द्व–पीडित, घाइते, अपांगता भएका तथा आर्थिक रूपले विपन्न वर्गलाई पनि नेकपाले प्राथमिकतामा राखेको छ । पार्टीका विभिन्न तह र मोर्चाले गरेको सिफारिसका आधारमा सूची बुझाउने तयारी नेकपाले गरेको छ ।
यता राष्ट्रिय प्रजातन्त्र पार्टीले युवा र विभिन्न क्षेत्रमा ख्यातिप्राप्त व्यक्तिका साथै पार्टीका पुराना नेतालाई समेटेर सूची तयार पार्ने काम गरिरहेको जनाएको छ । जनता समाजबादी पाटी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजबादी पार्टीलगायत नयाँ-पूराना सबै दलले आन्तरिक तयारीलाई तीव्र पारेका छन् ।