नयाँ शक्ति र युवाहरु एकीकृत भएर जाने विषयमा बालेन साहसंग छलफल: प्रवक्ता शाही

पुस १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
नयाँ शक्ति र युवाहरु एकीकृत भएर जाने विषयमा बालेन साहसंग छलफल: प्रवक्ता शाही

काठमाडौै । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले वैकल्पिक शक्तिहरु मिलेर जानुको विकल्प नरहेको भन्दै युवा शक्ति मिलेर जाने प्रस्ताव गरेको बताउनुभएको छ ।

शाहीले महानगर प्रमुख शाहसँग चरण चरणमा छलफल भएको पुष्टि गर्दै नयाँ शक्ति र युवाहरु एकीकृत भएर जाने विषयमा छलफल भएको बताउनु भयो । उहाँले मुलुकको विकास र जनताको अपेक्षा पूरा गर्न वैकल्पिक शक्तिहरु मिलेर जानु नै अन्तिम विकल्प भएको बताउनु भयो । 

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा १६५ वटै निर्वाचन क्षेत्रमा पकड बनाउने गरी वैकल्पिक शक्तिहरु मिल्नुपर्नेमा आफ्नो जोड रहेको पनि बताउनु भयो । शाहीले निर्वाचनको लागि मात्रै नभई मुलुकको दीर्घकालिन हितका विषयहरुलाई मध्यनजर गर्दै अगाडि बढ्नुपर्ने आफ्नो धारणा रहेको समेत बताउनुभयो । 

शाहीका अनुसार भेटघाटमा देश निर्माणका लागि विभिन्न युवाशक्ति र वैकल्पिक शक्तिहरु एकजुट भएर अघि बढ्ने सम्भावनाबारे छलफल छ । उहाँले तत्काल कुनै निश्चित निर्णय भइनसकेको भन्दै राजनीतिक सहकार्यको टुंगो लागिसकेपछि थप विषय सार्वजनिक हुने बताउनु भयो ।

शाहीले राम्रा मान्छेहरु नमिलेकै कारण मुलुकले सामाजिक आर्थिक समृद्धि हासिल गर्न नसकेको टिप्पणी पनि गर्नुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.