
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जनताको तहमा राजनीतिक दलहरूसँग संवाद बढाएर शान्तिपूर्ण रूपमा निर्वाचनमा सहभागिता सुनिश्चित गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता वर्षमान पुनले यस्तो आग्रह गरिएको बताउनु भयो । उहाँले सरकारद्वारा गठित संवद समितिलाई घोषित मितिमा निर्वाचन सम्पन्न गर्न पार्टीको पूर्ण समर्थन र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको पनि बताउनु भयो ।
उहाँले यही अवस्थामा निर्वाचनमा सहभागी हुन नेकपालाई कुनै समस्या नभए पनि केही राजनीतिक दलहरूले शान्ति-सुरक्षासम्बन्धी गुनासो राखेको भन्दै ती विषयहरूलाई सम्बोधन गर्न समेत आग्रह गरिएको बताउनु भयो । उहाँले विगतमा मुलुकमा राजनीतिक संकट आउँदा दलहरूलाई एकठाउँमा ल्याउन भूमिका खेलेको पार्टी संयोजक पुष्पकमल दाहाललाई राजनीतिक दलहरूलाई एकठाउँमा ल्याउन पहल गरिदिन समेत सरकारको तर्फबाट आग्रह गरिएको बताउनु भयो ।
उहाँले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा पार्टीले सबै राजनीतिक दलहरूसँग संवाद गरिरहेको समेत बताउनु भयो ।