
दाङ । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि दाङ क्षेत्र नं. ३ बाट कृष्णकुमार गिरीको नाम सिफारीस गरेको छ । २०८२ माघ ११ गते हुने निर्वाचनका लागि खसआर्यतर्फबाट महाधिवेशन प्रतिनिधिसमेत रहेका गिरीको नाम सिफारिस भएको हो ।
गिरी २०५० सालदेखि नेपालमा अन्धोपन न्यूनिकरण गराउन सक्रिय नेत्रज्योति संघमा संलग्न हुनुहुन्छ । नेत्रज्योति संघका केन्द्रीय सदस्य एवम् दाङ जिल्ला सभापति गिरी संघमार्फत लुम्बिनी र कर्णाली प्रदेशमा अन्धोपन न्यूनीकरणका लागि सक्रिय हुनुहुन्छ । यही योगदानवापत गिरी नेत्रज्योति पुरस्कार तथा राष्ट्रिपतिबाट सु-प्रवल जनसेवा पदकबाट सम्मानित हुनुभएको छ ।
भारतको बनारसमासमेत अध्ययन गर्नुभएका गिरीलाई पञ्चायतकालमा विभिन्न संघ संस्था खोलेका आरोपमा २०२९ कार्तिक २२ देखि २०३१ सम्म २ बर्ष सल्यान कारागारमा बन्दी बनाइएको थियो । २०३६ सालको जनमत संग्रहदेखि ०६२-०६३ का आन्दोलनमासमेत गिरीले सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।
उहाँ २०२८ साल भदौमा प्रवास भारतको बनारसमा भएको तरुणदलको निर्वाचनमा नेपाल तरुणदलको उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । कांग्रेसको राजनीतिमा सक्रिय रहे पनि गिरीले अहिलेसम्म कुनै पनि राजनीतिक पद भने पाउनु भएको छैन ।