मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

प्रदेश सभाको बैठकमा उपस्थित हुन सदस्यहरूलाई एसएमएस पठाइएको सचिवालयको भनाइ
पुस ४, २०८२ |अनिल मिश्र
 मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार विश्वासको मत लिँदै हुनुहुन्छ । 

विश्वासको मतका लागि प्रदेश सभाको बैठकमा उपस्थित हुन प्रदेश सभा सदस्यहरूलाई एसएमएस पठाइसकिएको प्रदेश सभा सचिवालयले जनाएको छ । मुख्यमन्त्री यादवले लिने विश्वासको मतका लागि शुक्रबार अपराह्न ४ बजे प्रदेशसभाको बैठक बोलाइएको छ । 

मुख्यमन्त्री यादवले विश्वासको मतका लागि बैठक बोलाइदिन बुधबार प्रदेशसभा सचिवालयलाई पत्र लेख्नुभएको थियो । सात दलका ७७ जना प्रदेशसभा सदस्यहरूको समर्थनमा कांग्रेसका संसदीय दलका नेता यादव गत मंसिर १९ गते मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको हो । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को २ बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान छ । यादव मुख्यमन्त्रीमा नियुक्त भएका १५ दिनपछि विश्वासको मत लिन लाग्नुभएको हो । 


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।