स्वस्थ प्रतिस्पर्धा र सामूहिक उपलब्धिसहित एमालेको ११औँ महाधिवेशन सम्पन्न भयाे : विष्णु रिमाल

पुस ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
स्वस्थ प्रतिस्पर्धा र सामूहिक उपलब्धिसहित एमालेको ११औँ महाधिवेशन सम्पन्न भयाे : विष्णु रिमाल

काठमाडौं । नेकपा (एमाले) का नेता विष्णु रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन गरिमा, उत्साह र सामूहिक उपलब्धिको अनुभूतिसहित असाधारण रूपमा सफलतापूर्वक सम्पन्न भएको बताउनुभएको छ।

महाधिवेशन सम्पन्न भएपछि सामाजिक सञ्जालमार्फत उहाँले यस्ताे प्रतिक्रिया जनाउनुभएकाे हाे । रिमालले नेतृत्व चयन प्रक्रियामा स्वस्थ र कमरेड्ली प्रतिस्पर्धा देखिएको समेत उल्लेख गर्नुभएको छ। उहाँकाअनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गर्नुभएको टिम प्रायः सर्वसम्मत रूपमा अनुमोदित भएको थियो। 

उक्त टिममा एक जना उपमहासचिव स्वयं रिमाल र एक जना उपाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित भएका छन्। यस नतिजालाई स्वाभाविक र लोकतान्त्रिक अभ्यासको अङ्गका रूपमा लिनुपर्ने धारणा राख्दै रिमालले भन्नुभएको छ, “यो न त अस्वाभाविक हो, न त चिन्ताको विषय। यस्ता परिणामहरू लोकतान्त्रिक प्रतिस्पर्धाका स्वाभाविक र स्वस्थ अभ्यास हुन्।”

जनताको बहुदलीय जनवादको मूल भावनाबाट पार्टी निर्देशित रहेको उल्लेख गर्दै उहाँले प्रतिस्पर्धालाई आत्मसात गर्दै नेतृत्वको म्यान्डेट प्राप्त गर्ने प्रक्रिया नै एमालेको शक्ति भएको बताउनुभएको छ। “पहलकदमी लिनु, प्रतिस्पर्धालाई स्वीकार गर्नु, आफ्नो श्रेष्ठता स्थापित गर्नु र नेतृत्वको म्यान्डेट प्राप्त गर्नु हाम्रो राजनीतिक अभ्यास हो,” रिमालको भनाइ छ।

महाधिवेशनको परिणामलाई आत्मविश्वास, संयम र प्रतिबद्धताका साथ स्वीकार गरिएको जनाउँदै उहाँले पार्टीभित्र औपचारिक भूमिकामा परिवर्तन भए पनि साझा संकल्प र कमरेड्ली भावना यथावत् रहेको स्पष्ट पार्नुभएको छ। आगामी दिनहरूमा पनि एउटै मार्गमा सँगसँगै अघि बढ्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.