
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले वामपन्थीबीच एकता नभए राष्ट्रिय राजनीतिमा समस्या आउने निष्कर्ष निकालेको छ ।
शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका नेता अग्निप्रसाद सापकोटोले पार्टी एकताका वैचारिक, राजनीतिक, सैद्धान्तिक कुराहरू टुंगो लागिसकेको बताउनु भयो ।
प्राविधिक र संगठनात्मक विषयमा छलफल केन्द्रित भएको उहाँले बताउनु भयो । पार्टी एकतामा माओवादी केन्द्र, एकीकृत समाजवादी, महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, प्रेमबहादुर सिंह नेतृत्वको पार्टी, राजु कार्की नेतृत्वको पार्टी, सुवास काफ्लेलगायतको पार्टीहरूसँग पार्टी एकता हुने उहाँले बताउनु भयो ।
अब एकता गर्न ढिलाइ गर्न नहुने र ढिलो भए राष्ट्रिय राजनीतिमा आफूहरूको पहलकदमी ढिलाइ हुने उहाँले बताउनु भयो । देश झन झन अराजकता र संकटतिर गइरहेको नेता सापकोटोले बताउनु भयो । मिल्नसक्ने जतिलाई मिलाएर पहलकदमी नलिए निर्वाचन हुन नसक्ने अवस्था रहेको उहाँले ताउनु भयो ।
नेकपा (माओवादी केन्द्र) नफुट्ने दाबी समेत उहाँले गर्नुभयो । पार्टीका नेता जनार्दन शर्माको तौरतरिका अराजनीतिक, अलोकतान्त्रिक भएको आरोप उहाँले लगाउनु भयो ।