
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न राजनीतिक दलका नेताहरूसँग निर्वाचनका विषयमा परामर्श जारी राख्नुभएको छ।
यसै सन्दर्भमा शनिबार उहाँले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्नुभएको हाे। दिउँसो ४ देखि ५ बजेको बीचमा करिब एक घण्टा चलेको छलफलका क्रममा आगामी निर्वचनबारे हालसम्म सरकार र राजनीतिक दलका तर्फबाट भएका तयारी र आउँदा दिनमा गर्नुपर्ने कामका विषयमा खुलेर कुराकानी भएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले बताउनुभयो।
प्रधानमन्त्री कार्कीले चुनावमा राजनीतिक दलको स्पष्ट प्रतिबद्धता आउनुपर्ने बताउनुभएको थियो। त्यस क्रममा महामन्त्रीद्वयको भनाइ थियो, ‘औपचारिक निर्णय गर्न बाँकी भएता पनि नेपाली कांग्रेस निर्वाचनमा जान प्रतिबद्ध छ। अब चाँडै निर्णय पनि गर्छौँ। नेकपा एमाले पनि राष्ट्रलाई निकास दिनका लागि निर्वाचनबाट भाग्न सक्दैन भन्ने नै लाग्छ। एमालेलाई मनाउन सरकारले पनि थप प्रयास गरोस्। हामी पनि प्रयास गर्छौँ।’
उहाँहरूले आफ्नो पार्टीले जेन-जी युवालगायत अन्य दलहरूसँग पनि तुरून्तै गहन सम्वाद गर्ने बताउनुभयाे। जेन-जीलगायत सबै राजनीतिक दलहरूसँग गहन छलफल गरेर युवा आन्दोलनका मागलाई निर्वाचनअघि के-के सम्बोधन गर्न सकिन्छ र निर्वाचनपछिको संसद्को पहिलो बैठकले के-के निर्णय गर्ने भन्ने विषयमा पनि अहिले नै सहमति गरेर जानुपर्ने धारणा उहाँहरूले राख्नुभयो।
प्रधानमन्त्री कार्कीले एमाले नेतालाई पनि छलफलका लागि बोलाउनुभएको छ। शनिबार पार्टीको बैठक भएका कारण अर्को दिन भेट्ने एमाले नेतृत्वले बालुवाटारलाई जानकारी गराएको छ। प्रधानमन्त्री कार्कीले यसअघि पनि विभिन्न चरणमा फरक-फरक दलका नेताहरूसँग छलफल गर्नुभएको थियो।
प्रधानमन्त्रीकै आह्वानमा सरकार, राजनीतिक दल र जेन-जी युवाबीच त्रिपक्षीय सम्वाद पनि सौहार्दपूर्ण वातावरणमा सम्पन्न भइसकेको छ।