
काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको ‘कम्युनिष्ट पार्टी नेपाल’ले निर्वाचन आयोगमा मंगलबार दल दर्ताका लागि निवेदन दिएको छ ।
आयोगको कार्यालय, बहादुर भवनमा पुगेर सो पार्टीका नेता सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मासहितले दल दर्ताको निवेदन दिनुभएको हो । आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीले निर्वाचनमा गएर दलहरूको समर्थन लिने लोकतान्त्रिक अभ्यासमा लागेकामा सो दलका नेता-कार्यकर्तालाई धन्यवाद दिनुभयो ।
आयुक्त भण्डारीले विशेष परिस्थितिमा आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभाको निर्वाचनलाई सफल तुल्याउन राजनीतिक दल र सम्बद्ध पक्षसँगको परामर्शमा आयोगले काम गर्ने विश्वास दिलाउनुभयो ।
नेता विश्वकर्माले लोकतान्त्रिक आन्दोलनलाई पुनः सङ्गठित गर्दै मुलुकका विभिन्न कम्युनिष्ट पार्टीसँग एकता र सहकार्यका लागि वार्ता भइरहेको बताउनुभयो । उहाँले समाजवाद स्थापनाका लागि सिद्धान्तनिष्ठ सच्चा कम्युनिष्ट पार्टी र त्यसको नेतृत्वको प्रश्नमा आफूहरू केन्द्रित रहेको पनि जानकारी दिनुभयो ।
विसं २०७७ फागुन २० गते सरकारसँगको सहमतिपछि चन्द समूह तत्कालीन अर्धभूमिगत अवस्थाबाट मूलधारको राजनीतिमा आएको थियो ।