निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सबै पक्षको सहकार्यका लागि प्रधानमन्त्री कार्कीको आग्रह

आगामी निर्वाचन ‘राष्ट्रिय अनुष्ठान’ का रुपमा ग्रहण गर्न आह्वान
कार्तिक १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सबै पक्षको सहकार्यका लागि प्रधानमन्त्री कार्कीको आग्रह

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक परिस्थितिलाई सन्तुलित बनाउँदै आउँदो फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सबै पक्षको सहकार्यका लागि आग्रह गर्नु भएको छ ।

सूर्य आराधनाको महान् पर्व छठका अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री कार्कीले राष्ट्रिय एकता, सद्भाव र लोकतान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध रहन अहिलेको अवस्थामा सबै नेपालीबीच अझै बढी एकता र सद्भावको खाँचो रहेको बताउनुभएको छ । 

उहाँले सत्य, अहिंसा र प्रकृतिप्रेममा अभिप्रेरित छठ पर्वले तराई–पहाडबीचको सांस्कृतिक र सामाजिक एकता सुदृढ गर्ने सेतुको काम गरिरहेको बताउनुभएको छ ।

प्रधानमन्त्री कार्कीले आगामी निर्वाचनलाई एक ‘राष्ट्रिय अनुष्ठान’ का रूपमा ग्रहण गरी सफल बनाउन सम्पूर्ण नागरिक, राजनीतिक दल र सरोकारवालालाई आह्वान पनि गर्नुभएको छ । उहाँले सबै पक्षले परिस्थितिको संवेदनशीलता र आ–आफ्नो जिम्मेवारीको बोध गर्दै निर्वाचन सफल पार्न जुट्नुपर्ने बेला आएको उहाँले प्रष्ट पार्नु भएको छ । 

छठको सन्दर्भमा उहाँले पवित्र आस्था, कठिन व्रत र सिंगारिएका नदी तथा तलाउका किनारमा देखिने उत्सवका दृश्यहरूले नेपाली समाजमा सद्भाव र खुशी फैलाओस् भन्ने कामना पनि व्यक्त गर्नुभएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.