काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू देशको जुनसुकै स्थानमा जाने भन्दै रोकेर देखाउन सरकारलाई चुनौती दिनुभएको छ ।
एमालेले पार्टी कार्यालय च्यासलमा शनिबार भएको चियापान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आवश्यकताका आधारमा आफू देशका जुनसुकै स्थानमा जान सक्ने र सरकारले रोक्न नसक्ने बताउनुभएको हो । उच्चस्तरीय न्यायिक आयोगले आफूलाई काठमाडौं उपत्यका छाड्न रोक लगाएकोप्रति उहाँको आपत्ति थियो ।
भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले गत असोज १२ गते ओली र पूर्वगृहमन्त्री रमेश लेखकसहित ५ जनालाई आयोगको स्वीकृतिविना उपत्यका छाड्न रोक लगाउने निर्णय गरेको थियो । ओली र लेखकसहित पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र काठमाडौंका पूर्वप्रजिअ छविलाल रिजाललाई उपत्यका छाड्न नपाउने व्यवस्थाका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय आयोगले गरेको थियो । यस्तै उनीहरुलाई विदेश भ्रमणमा रोक लगाउने निर्णय पनि आयोगले गरेको छ ।
चियापान कार्यक्रममा अध्यक्ष ओलीले वर्तमान सरकारको जग नै नभएको आरोप लगाउनुभयो । उहाँले जग भएका सरकारलाई त आफूहरूले बलजफ्ती हटाएको भन्दै वर्तमान सरकारले धाकधम्की दिन नसुहाउने जिकिर गर्नुभयो । जेन-जी आन्दोलनका कारण गत भदौ २४ गते प्रधानमन्त्रीबाट राजीनामा दिन बाध्य भएपछि पहिलो पटक पार्टी कार्यालय पुगेका ओलीले सरकारप्रति आक्रोस पोख्दै अस्वस्थता फैलाएको आरोप लगाउनुभयो ।