नेतृत्व छोड्न तयार छु : अध्यक्ष दाहाल

कार्तिक १, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेतृत्व छोड्न तयार छु : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का संयाेजक पुष्पकमल दाहालले अध्यक्ष पद छोड्न तयार रहेको बताउनुभएको छ ।

अखिल नेपाल ट्रेड युनियन महासंघले शनिबार आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले अध्यक्ष पद आफ्नो लागि समान्य भइसकेको दाबी गर्नुभयो । माओवादीमा दाहालले नेतृत्व छाड्नुपर्ने आवाज उठ्न थालेको छ । सोही आवाजप्रति लक्षित गर्दै उहाँले देश बचाउनको लागि आफूले जस्तोसुकै बलिदान गर्न पनि तयार रहेको बताउनु भयो । 

उहाँले अरूलाई पनि त्याग गर्नको लागि तयार रहन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘कतिपय मानिसहरूले भन्ने गर्छन्, पार्टी अध्यक्ष छोड् । म पार्टी अध्यक्ष मात्रै होइन । के बलिदान गर्न पर्छ म गर्न तयार छु । आजै म तपाईहरूको अगाडी घोषणा गर्न चाहन्छु । देश बच्न पर्‍यो । हामीलाई अध्यक्ष, पद, कार्यकारी यो धेरै सानो कुरा भइसक्यो । मैले यिनैकुरा विचार गरेर नै केन्द्रीय समितिलाई आयोजक समितिमा, अध्यक्षलाई संयोजकमा अधिवेशनसम्म जाँदा जे परिवर्तन गर्नुपर्छ, जस्तोसुकै त्याग गर्न म तयार छु, मैले भनिराखेको छु । म सबैलाई पनि राष्ट्रको निम्ति त्याग, देशको निम्ति त्याग गर्न तयार रहन पनि म सबैसँग अपील गर्दछु ।’

उहाँले पार्टी कार्यकर्ताहरूलाई विचलित नहुन पनि आग्रह गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.