जेन-जी आन्दोलनले बढारिएका दलहरूले देखाएनन् सच्चिने संकेत, पूनर्गठन र नेतृत्व पुस्तान्तरणको मुद्दा ओझेलमा

एकजुट भएर एजेन्डा स्थापित गर्न जेन-जीमाथि दबाब ।
आश्विन ४, २०८२ |प्रकाश बम
जेन-जी आन्दोलनले बढारिएका दलहरूले देखाएनन् सच्चिने संकेत, पूनर्गठन र नेतृत्व पुस्तान्तरणको मुद्दा ओझेलमा

काठमाडौं । जेन-जी युवाको विद्रोहपछि विकसित राजनीतिक घटनाक्रमले पुराना राजनीतिक शक्तिलाई नराम्ररी धक्का पुगेको छ । 

तर जेन-जीको विद्रोहपछि बितेको साता दलहरुले सार्वजनिक गरेका अभिव्यक्ति र उनीहरुका गतिविधिले अझै सच्चिने र सुधार हुने छनक देखिएको छैन । लामो समयदेखि सत्ता र शक्तिमा रमाउँदै आएका तर युवाको विद्रोहपछि किनारा लागेजस्ता देखिएका दलका शीर्ष नेता अझै नेतृत्वबाट अलग हुने मनसायमा देखिँदैनन् । 

पार्टीहरुभित्र पुस्तान्तरणको झिनो आवाज उठे पनि तत्काल शीर्ष नेतृत्वलाई बहिर्गमनको उपाय खोजिएकै छैन । बरु यिनै नेताहरुलाई सही भन्ने भाष्य निर्माण गर्न थालिएको छ । त्यसले गर्दा दलहरु अझै सुध्रिने छाँट नदेखिएको हो ।

जेन-जी युवाको विद्रोह सफल भएपछि शुक्रबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरण गर्नेबारे कुनै निर्णय गर्न सकेन । 

बरु नेताहरुले सभापति शेरबहादुर देउवालाई नै सही भन्ने ठहर गरे । जेन-जी युवाले उठाइरहेको पुस्तान्तरणको नारालाई आत्मसाथ गर्नुका सट्टा अहिलेकै नेतृत्व उचित भन्दै कार्यवाहक नतोक्ने, विशेष महाधिवेशन पनि नगर्ने निर्णय भयो । 

कांग्रेसका तल्लो तहका युवा अहिलेको नेतृत्वले अवकाश लेओस् भन्ने चाहन्छन् । तर यो निर्णयले विशेष महाधिवेशनसहित पार्टी पूनर्संरचना गर्नुपर्ने माग गर्न थालेका कार्यकर्तामा निराशा देखिएको छ ।

त्यसो त तत्कालिन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै हठका कारण पछिल्लो परिस्थिति सिर्जना भएको आम बुझाइ छ । ओली आफूले लिएका निर्णय र चालेका कदम सही भन्दै दोष जति अरुलाई वा अमूक पात्रतर्फ थुपारिरहनुभएको छ। 

यथास्थितिमा अघि बढ्न नसकिने भन्दै एमालेको ठूलो तप्काले ओलीको बहिर्गमन चाहेको भए पनि उहाँको रणनीति पार्टीमा पुस्तान्तरण गर्नुको सट्टा आगामी महाधिवशेनबाट पनि आफैं नेतृत्वमा पुग्ने देखिन्छ । युवा नेताहरु भने ओलीको अनुहार लिएर निर्वाचनमा जानै नसकिने बताइरहेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल त झन् जेन-जीको विद्रोहपछि प्राप्त उपलब्धिको जस नै आफैं लिन तल्लीन देखिनुभएको छ । नेतृत्व छाड्ने कुरा कसैले गरे त्यो सुन्नसमेत उहाँ तयार देखिनुहुन्न । 

उपमहासचिव उपमहासचिव जनार्दन शर्मासहितका नेताहरुले दाहालको राजीनामा माग गरिरहे पनि त्यसलाई अस्वीकार गर्दै उहाँले संविधान नै आफैंले बचाएको सम्मका भाषण दिन थाल्नुभएको छ । दाहालले अहिलेका घटनाक्रमको सबै दोष एमाले अध्यक्ष ओलीमाथि थोपरिरहनुभएको छ । यो अवस्थाले माओवादी सुध्रने संकेत कतै देखिएको छैन ।

२०६२-६३ को आन्दोलनमा होमिएका ७ दलमध्येका यी तीन दललाई राजतन्त्र हटाएको, संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा र २०७२ साल संविधान जारी गरेको धङ्धङी छ। त्यो विरासतको भारीले उनीहरुलाई हलचल गर्न दिएको छैन। 

६३ सालदेखि आलोपालो सत्ताको नेतृत्व गरेका यी दललाई लोकतन्त्रको रक्षा, संविधानको संरक्षण, कार्यान्वयन र व्यवस्थाको जगेर्ना गर्ने काम आफ्नै ठेक्का हो भन्ने छ । जबकी जेन-जी आन्दोलनले यी सुधार र पुनर्गठन नभए यी दलको औचित्य समाप्त भइसकेको पुष्टि गरिदिइसकेको छ ।

यता मधेश केन्द्रित दलमा समेत नेतृत्व पुस्तान्तरणको झिनो आवाज मात्र उठेको छ । तर त्यो आवाज दबाउन र अहिलेकै नेतृत्व ठीक भन्ने भाष्य निर्माण गर्न खोजिँदै छ । वैकल्पिक शक्तिको दाबी गर्ने रास्वपाले त आफ्ना सभापति रवि लामिछानेलाई जेलबाट छुटाउन गरेको हर्कतले विश्वास गुमाइसकेको छ ।

२०६२-६३ को जनआन्दोलन र २०७२ सालमा संविधान जारी भएयता सीमित अनुहारले राज्य संयन्त्रमा एकलौटी गरेका थिए । भ्रष्टाचारका काण्ड छानबिन गर्नसमेत उनीहरुले सकेनन् । 

अहिले जेन-जी पुस्ताले गरेको विद्रोह पनि त्यही कारण भएको हो । तर व्यक्तिगत स्वार्थ र हठका कारण दलहरुले सुध्रने संकेत नै देखाएका छैनन् ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।