संविधान जोगाउन र सार्वभौमसत्ताको रक्षा गर्न एमाले अध्यक्ष ओलीको अपील

आश्विन ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
संविधान जोगाउन र सार्वभौमसत्ताको रक्षा गर्न एमाले अध्यक्ष ओलीको अपील

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान जोगाउन र सार्वभौमसत्ताको रक्षा गर्ने कार्यमा एकताबद्ध हुन अपील गर्नुभएको छ ।

संविधान दिवसका अवसरमा शुक्रबार वक्तव्य जारी गर्दै उहाँले देशको सार्वभौमसत्तामाथि उत्पन्न चुनौतीलाई परास्त गर्दै जारी भएको संविधान नेपाली जनता आफैँले आफ्ना निम्ति लेखेको भविष्य रेखा भएको उल्लेख गर्नुभएको छ ।

अध्यक्ष ओलीले गत भदौ २३ र २४ गते ‘जेन-जी’ प्रदर्शनका क्रममा घुसपैठ भई हिंसा मच्चाउँदा युवाको ज्यान गएकामा दुःख व्यक्त गर्दै उहाँले तत्कालीन सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश नदिएको स्पष्ट गर्नुभयो । 

“प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ । त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दै दिवङ्गत युवाप्रति श्रद्धाञ्जली एवं घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दछु”, उहाँले भन्नुभएको छ, “यो संविधान निर्माण गर्दा हामीले भोगेका चुनौती तपाईंहरूको सम्झनामा ताजै छन् । नाकाबन्दी र देशको सार्वभौमसत्तामाथि उत्पन्न चुनौतीलाई परास्त गर्दै संविधान जारी भएको थियो । तसर्थ नेपालको संविधान नेपाली जनताले आफैँले आफ्ना निम्ति लेखेको भविष्य रेखा हो ।”

अध्यक्ष ओलीले संविधान जारी भएपछि नेपाललाई कसैले नाकाबन्दी लगाउन नसक्ने गरी भूपरिवेष्ठित देशलाई भू-जडित बनाउन उत्तर दक्षिण जोड्ने यातायात संरचना बनाइरहेको र उत्तरी छिमेकी देशसँग पनि यातायात पारवहन सम्झौता गरेको स्मरण गर्नुभयो । 

“हाम्रो सार्वभौमसत्ताको सामथ्र्य विस्तार गरेका थियौँ । हाम्रा विकास संरचनाका जग बसालेका थियौँ ।”, वक्तव्यमा भनिएको छ, “यतिबेला हाम्रो संविधानमाथि ठूलो आक्रमण भएको अवस्थामा छौँ । प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइएको छ– नेपालको नक्सा जलाइएको छ, देशको निशानी मेटाउन खोजिएको छ । यसका पछाडिको षड्यन्त्रबारे आज म धेरै कुरा भन्दिनँ, धेरै कुरा समयले आफैँ बयान दिनेछ । हाम्रो देश बनिरहेको थियो कि बिग्रेको थियो रु वा देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार मात्रै गरिएको थियो ? यी सबै कुरा हाम्रो नयाँ पुस्ताले आफैँ महसुस गर्नेछ । विदेश जाने र आउने विमानस्थलको भीडलाई नकारात्मक भनिरहेको समाज आज देश बाहिरको अनुमति बन्द हुनुलाई के ठान्ला, यो पनि समयले महसुस गराउनेछ । हाम्रो नयाँ पुस्ताले आफैँ बुझ्ने छ ।”

अध्यक्ष ओलीले युवाले काजी भीम मल्ल देशको सिमाना विस्तार गरेर देश फर्किनासाथ काटिएपछि पछुताउने मात्र विकल्प बाँकी रहेको घटना पनि स्मरण गर्नुभएको छ ।-रासस


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.