दलका शीर्ष नेताहरूकै कारण लोकतन्त्र असफल भयो, उनीहरूले राजीनामा दिनुपर्छ : पुरञ्जन आचार्य

आश्विन २, २०८२ |कान्तिपुर टीभी संवाददाता
दलका शीर्ष नेताहरूकै कारण लोकतन्त्र असफल भयो, उनीहरूले राजीनामा दिनुपर्छ : पुरञ्जन आचार्य

काठमाडौं । वरिष्ठ राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले ठूला राजनीतिक दलका शिर्ष नेताहरूकै कारण लोकतन्त्र असफल भएकाले उनीहरूले राजीनामा दिनुपर्ने बताउनुभएको छ ।

ठूला राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र)को नेतृत्व गरिरहेकै नेताहरू असफल भएको प्रमाण आन्दोलनबाट पुष्टि भइसकेको बताउनुभएको हो । 

उहाँले नेता र नेतृत्वको विरूद्धमा जनता सडकमा निस्किनु भनेको उनीहरू असफल भएको प्रमाण रहेको जिकिर गर्नुभयो । कांग्रेस र एमाले र माओवादीको नेतृत्व गर्नेहरूले सरकारको पतनसँगै आफ्नो पार्टीमा राजीनामा बुझाउनुपर्नेमा त्यो हुन नसकेको उहाँले बताउनु भयो । 

आन्दोलनमा टेकेर भएको अपराध, तोडफोड, हत्याले शीर्ष नेताहरू राजकाज चलाउन असफल भएको स्पष्ट हुने उहाँकाे भनाइ छ । जेन-जी आन्दोलन शीर्ष नेताहरूको नेतृत्वको असफलतामै टेकेर भएको बताउनु भयो । पार्टी दुब्लाएर हात्तीबाट मुसा भइसक्दा समेत माओवादीको नेतृत्वबाट पुष्पकमल दाहालले छोड्न नसक्नुभएको उहाँले बताउनु भयो ।

उहाँले कार्यकर्ताहरूले सचेततापूर्वक शिर्ष नेताहरुलाई पार्टीबाट अब बिदाइ गर्नुपर्ने बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.