काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपालीलाई समानुपातिक मतदानमा सहभागी गराउन निर्वाचन आयोगलाई आग्रह गर्नुभएको छ ।
सरकारले आगामी फागुन २१ गते तोकेको प्रतिनिधिसभा निर्वाचनको तयारीलाई लिएर निर्वाचन आयोगले गरेको कार्यक्रममा गृहमन्त्री अर्यालले विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन आग्रह गर्नुभएको हो ।
जेन-जीले गरेको आन्दोलनबाट प्राप्त उपलब्धिको जगमा सुशीला कार्की नेतृत्वको सरकार गठन भएकाले पनि प्रतिनिधिसभाको समानुपातिक निर्वाचनमा विदेशमा रहेका नेपाली युवालाई मतदानको व्यवस्था गर्न गृहमन्त्री अर्यालले आग्रह गर्नुभयो ।
मन्त्री अर्यालले सरकारको मुख्य काम निष्पक्ष निर्वाचन गराउनु रहेको भन्दै तोकिएकै समय फागुन २१ गते चुनाव गराउन सरकार प्रतिबद्ध रहेको भन्दै त्यसका सुरक्षालगायत साझा सहमति आवश्यक रहेको बताउनुभयो । जेन-जीलाई राजनीतिको मूलप्रवाहमा ल्याउन सकिए देशका लागि राम्रो हुने गृहमन्त्री अर्यालको भनाइ छ ।
कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएको मिति फागुन २१ मा निर्वाचन गराउन आयोग सक्षम रहेका भन्दै त्यसका लागि प्रारम्भिक चुनावी प्रक्रिया सुरु गरिसकेको बताउनुभयो ।
विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन र मतदाता संकलनका लागि पनि आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने भण्डारीले बताउनुभयो । गृहमन्त्री अर्यालले तोकेकै समयमा प्रतिनिधिसभाको निर्वाचन गराउन चुनाव गराउनका लागि कानुनमा देखिएका अप्ठ्यारालाई अध्यादेशमार्फत् फुकाइदिने आश्वासनसमेत आयोगलाई दिनुभएको छ ।
कार्यबाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले चुनावको पहिलो प्राथमिकता शान्ति सुरक्षा रहेको र चुनावी माहोल बनाउनुपर्ने भएकाले सरकारलगायत सम्वन्धित सरोकारवालापक्षले त्यस्तो वातावरण बनाइदिनुपर्ने बताउनुभयो ।