काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकारविरूद्ध आन्दोलन गर्ने बताउनुभएको छ ।
अखिल नेपाल ट्रेड युनियन महासंघले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सरकार निरंकुशतातर्फ गएकाले आफ्नो पार्टीले आन्दोलनमा जाने तयारी रहेको बताउनुभएको हो ।
उपाध्यक्ष सापकोटाले संसदमा पार्टीको संख्या पनि कम भएकाले सरकारलाई दबाब दिन जनतालाई जागृत गर्न पनि सडक आन्दोलनमा जानुको विकल्प नरहेको तर्क गर्नुभयो ।
सरकारविरूद्ध आन्दोलनमा जानुपर्ने अवस्था आएको त्यसको तयारी रहन पनि उहाँले पार्टीका नेता, कार्यकर्तालाई आह्वान गर्नुभयो । सरकार अधिनायकवाद, तानाशाही र निरंकुशतातिर गईरहेकाले आफूहरुले जनतालाई सचेत गराउन आन्दोलनमा जाने बाटो तय गरेको उपाध्यक्ष सापकोटाको भनाइ थियो ।
उपाध्यक्ष सापकोटाले सत्तारुढ कांग्रेस-एमालेबीच पनि भयानक ठूलो अन्तर्विरोध रहेको जिकिर गर्नुभयो ।