काे हुन् रुपेन्देही क्षेत्र नं. ३ मा रास्वपाले उम्मेद्‌वार बनाउन खाजेका लेखजंग थापा ?

भाद्र १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
काे हुन् रुपेन्देही क्षेत्र नं. ३ मा रास्वपाले उम्मेद्‌वार बनाउन खाजेका लेखजंग थापा ?

काठमाडौं । प्रतिनिधि सभा रूपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार बनाउने टुंगो लगाएसँगै वरिष्ठ न्यूरोलोजिस्ट डा. लेखजंग थापा को हुन भन्ने चासो सुरू भएको छ । 

यो उपनिर्वाचनले दलीय अंक गणितमा साह्रै ठुलो फेरवदल नहुने भए पनि सबै दलले प्रतिष्ठाको विषय बनाएका छन् । अझ विशेष गरेर रास्वपाले आफ्ना सभापति रवि लामिछानेविरूद्ध लागेको मुद्दाका कारण पनि यो उपनिर्वाचनमा जित सुनिश्चित गर्ने र सत्तारूढ दललाई जवाफ दिने रणनीति अनुसार अरूभन्दा अगाडी नै उम्मेदवार टुंगो लगाएर निर्वाचनमा होमिएको छ ।

रुपन्देहीको सिद्धार्थनगर–९, अञ्चलपुरमा जन्मिएका ४९ वर्षीय डा. थापा वरिष्ठ न्यूरोलोजिस्ट हुनुहुन्छ । चिकित्सा क्षेत्रमा १६ वर्षभन्दा लामो अनुभव भएका थापाको नेपालमा उपचारको क्षेत्रमा मात्र नभएर न्यूरो साइन्सको विकासमा पनि ठूलो योगदान छ ।

उहाँले पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट इन्टरनल मेडिसिनमा एमडी र कलेज अफ मेडिकल साइन्सेज चितवनबाट डीएम न्यूरोलोजी अध्ययन गर्नुभएको हो । 

उहाँ अमेरिकाको प्रसिद्ध हार्वर्ड विश्वविद्यालयको ‘सेफ्टी क्वालिटी लिडरसिप एण्ड इन्फमेटिभ’को स्नातकसमेत हो । समाजलाई नयाँ दिशानिर्देश गर्ने उद्देश्यसहित आफू राजनीतिमा आएको उहाँको भनाइ छ ।

अनुसन्धानकर्मी समेत रहेका डा. थापा नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष हुनुहुन्छ । रास्वपाको सचिवालय बैठकले आकांक्षी नौ जनामध्ये प्राथमिक चुनाव र अन्य मापदण्डका आधारमा डा. थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । 

उम्मेदवार बनाउने घोषणा गरेसँगै उहाँका दुईवटी श्रीमती रहेको विषय पनि चर्चामा छ । बहुविवाह गरेको विषयलाई लिएर उहाँलाई उम्मेदवार बनाउन नहुने विषय रास्वपा भित्र र बाहिर जारी छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.