काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै शेषनागले पृथ्वी बोक्ने कुरा दन्ते कथा भइसकेको टिप्पणी गर्नुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले शेषनागले पृथ्वी कहीँ पनि नबोकेको जिकिर गर्नुभयो । शेषनागले पृथ्वी बोक्ने कुरा दन्तेकथा भइसकेको बताउँदै शेषनाग हल्लिँदा भूकम्प आउँछ भन्ने नसोच्न चेतावनी दिनुभयो । आज विज्ञानले पृथ्वी किन हल्लिन्छ भन्दै अर्को पुष्टि गरिसकेको उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘शेषनागले कहीँ पृथ्वी बोकेको पनि छैन । शेषनागले पृथ्वी बोकेको पनि हुँदैन । त्यो त दन्ते कथा हो । शेषनागले पृथ्वी बोकेको छ, त्यसले यसो हल्लाइदियो भने भूकम्प आउँछ भन्ने त दन्तेकथा हो । आज त विज्ञानले अर्कै पुष्टि गरिसक्यो । त्यसकारणले यो पृथ्वी चल्छ, केही ढल्दैन ।’
पृथ्वी कसैले छोड्दैमा नढल्ने उहाँको टिप्पणी छ ।