ओलीलाई महेन्द्रबहादुर पाण्डेले भन्नुभयाे- भ्रमणमा भारतले लिपुलेकबारे दबाब दिनसक्छ, मुलुकको स्वाधिनतामा सम्झौता गर्नु हुँदैन

भाद्र ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
ओलीलाई महेन्द्रबहादुर पाण्डेले भन्नुभयाे- भ्रमणमा भारतले लिपुलेकबारे दबाब दिनसक्छ, मुलुकको स्वाधिनतामा सम्झौता गर्नु हुँदैन

काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले कसैको दबाबमा परेर देशको स्वाधिनतामाथि सम्झौता गर्न नहुने बताउनुभएको छ ।

नेपाल चीन कुटनैतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा फ्रेण्ड्स अन क्लाउडः प्ल्याटफर्म अफ इन्फ्लुएन्सर्स नेपालले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन र भारत भ्रमणमा नेपाली भूमि लिपुलेकमा दुई देशले व्यापार मार्ग खोल्ने गरेको सम्झौतामा स्पष्ट अडान राख्नुपर्ने उहाँले बताउनु भयो । 

उहाँले नेपाललाई भारतले त्यसबारेमा दबाब दिनसक्ने भन्दै देशको स्वाधिनतामा आँच आउने काम कुनैपनि दबाबमा परेर गर्न नहुने सुझाव दिनुभयो । चीन नेपालमाथि कुनै समस्या खडा गर्ने पक्षमा नरहे पनि भारत नेपालमा अस्थिरता र नियन्त्रणमुखी भुमिकामा देखिएको उहाँको टिप्पणी छ । 

२०७२ सालमा पनि यसैगरी सम्झौता भइ आफूले परराष्ट्रमन्त्री हुँदा कुटनीतिक नोट पठाएको उहाँले स्मरण गर्नुभयो । उहाँकाअनुसार अहिले हरेक राजनीतिक दलहरुमा नेतृत्व नभइ कमाण्डिजम हाबी भएको छ ।

कार्यक्रममा विज्ञहरूले नेपालको समग्र हित र चौतर्फी विकासका लागि चीनको प्रत्यक्ष भुमिका अपरिहार्य रहेको विज्ञहरूले औंल्याएका छन् । चीनले कृषि, शिक्षा, प्रविधि, स्वास्थ्य, अन्वेषण लगायतका क्षेत्रमा गरेको उन्नतिबाट नेपालले पनि लाभ उठाउन सक्नुपर्ने बताएका छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.