कसले बनाउँदैछ संसद्लाई भाइरल कन्टेन्ट उत्पादनको थलो ?

श्रावण २९, २०८२ |अञ्जना लामिछाने
कसले बनाउँदैछ संसद्लाई भाइरल कन्टेन्ट उत्पादनको थलो ?

काठमाडौं । सामाजिक संजालमा तपाईँले राखेको कुनै सामग्री धेरैपटक सेयर हुनु, लाइक र कमेन्ट आउनु र त्यसैमाथि अन्तर्क्रिया हुनुलाई आजभोलि सामाजिक संजालकै भाषामा भाइरल हुनु भनिन्छ। सामाजिक संजाल नियमित चलाउने धेरैलाई यसरी भाइरल हुन मन हुन सक्छ। भाइरल हुनका लागि कतिले उत्तेजक, अराजक वा लाञ्छनायुक्त सामाग्री बनाउँछन् भने कतिले भ्रामक र झुटा कथा बनाउँछन् । कानुन बनाउने थलो संसदलाई समेत यस्तो भाइरल कन्टेन्ट बनाउने थलो बनाएको भन्दै प्रधानमन्त्री केपी ओलीले बुधबार संसदमा विपक्षी दलको आलोचना गर्नुभयो । कसले गर्दैछ त संसदलाई यसरी भाइरल कन्टेन्ट उत्पादनको थलो ? कतै प्रधानमन्त्रीसमेत त्यही काम त गर्दै हुनुहुन्न ?

के प्रधानमन्त्री केपी ओलीले संसद सामाजिक संजालमा खपतका लागि कन्टेन्ट उत्पादन गर्ने थलो भएकै हो त ? प्रधानमन्त्री ओलीले बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै झुटा कथा सिर्जना गरेर सदनलाई सोसल मिडियाका लागि कन्टेन्ट उत्पादन गर्ने थलो बनाउने प्रयास हुने गरेको आरोप लगाउनुभएको थियो ।

जवाफमा बिहीबारको बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटाले संसदमा उठेको प्रश्नको जवाफ नदिएर सरकारले नै मिथ्या कथा सिर्जना गरेर सामाजिक सञ्जालमा कन्टेन्ट उत्पादन गरिरहेको उल्टै आरोप लगाउनुभयो ।

माओवादीकै सांसद रेखा शर्माले संसद्लाई भाइरल कन्टेन्ट उत्पादन गर्ने थलो भनेर प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति खेद नै प्रकट गर्नुभयो ।

प्रमुख प्रतिपक्षीले प्रधानमन्त्रीको अभिव्यक्तिको आलोचना गर्नुको कारण हो – प्रधानमन्त्रीले विपक्षीलाई लक्षित गर्दै यस्तो रोष पोख्नु ।

तर झुटा कथा सिर्जना गरेको भनेर विपक्षीमाथि आक्रमण गरिरहँदा उहाँ स्वयंले पनि प्रधानमन्त्रीको हैसियतमा संसदको रोष्ट्रम प्रयोग गर्दै व्यक्तिगत आक्षेप नै लगाउनुभयो । कतिसम्म भने उहाँले विपक्षी रास्वपालाई लक्षित गर्दै भिजिट भिसामा विदेश गएर दुई पटक बिहे गरिसकेका व्यक्तिले अन्तर्राष्ट्रिय विमानस्थलमा प्लेन चढ्ने सबैलाई बेचिएको भाष्य स्थापित गरेको भनेर लगाएको आक्षेप नै सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

प्रधानमन्त्रीले भनेजस्तै संसदमा कतिपय दलका सांसदले तथ्यहीन विषय उठाउने गरेका छन् । उनीहरु कहिले प्रधानमन्त्रीले मान्छे बेचेको आरोप लगाउँछन् त कहिले गाली बेइज्जती हुने अभिव्यक्ति दिँदै संसद्मा अवरोध गर्छन् ।

सांसदहरुले यदाकदा उठाउने यस्ता विषयको प्रामाणिकता नै परीक्षण उनीहरु गर्दैनन् । प्रधानमन्त्री ओली कै दल नेकपा एमालेका सांसदहरु पनि भाइरल कन्टेन्ट उत्पादनमा कम भने छैनन् । आफ्ना विषय राखेर संसद्बाट बाहिरिने गरेका रास्वपा र राप्रपाका सांसदलाई काउन्टर दिँदै एमाले सांसदहरुले दिएका अभिव्यक्ति त्यसका उदाहरण हुन् ।

उत्तेजक अभिव्यक्ति प्रस्तुतीमार्फत् ध्यानाकर्षण गर्ने कतिपयको शैली प्रवृत्ति नै बनेको देखिन्छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले हुलाकी सडकबारे प्रश्न उठाउँदै सडक तत्काल निर्माण गर्न रुलिङ नभए सभामुखकै अगाडि अनसन बस्ने चेतावनी दिनु यसको उदाहरण हो । सडक समयमै नबन्दा नागरिकले पाएको सास्तीमा प्रश्न उठाउनु स्वभाविक नै हो । तर सांसद मोदीले जुन अभिव्यक्ति दिनुभयो त्यो पब्लिक सेन्टिमेन्ट खपत गर्ने र भाइरल बन्ने उपाय हो ।

संसदमा यसभन्दा पनि उत्तेजक र अराजक गतिविधि देखिएका कैयौं उदाहरण छन् । कतिपय सांसदले सामाजिक संजालमा छाउने गरि कहिले सदनमा ठिङ्ग उभिएर मौन धारण गर्ने तर नबोल्ने, त कहिले कपडा खोल्नेसम्मका हर्कत देखाउने गरेका छन् । व्यक्तिगत आक्रमण प्रत्याक्रमण पनि संसदमा सामान्यजस्तो देखिने गरेका छन् । तर यसमा कुनै एउटा वा दुइटा दल विशेष होइन, सत्तारुढ र विपक्षी दुबैथरि बेन्चबाट भइरहेको छ । त्यसमाथि कहिलेकाहीं शिर्ष तहका नेताबाट संसदको रोष्ट्रमबाट समेत भइरहेको छ । जुन संसदीय मर्यादाविपरित हो जसले कानुन बनाउने थलोलाई बदनाम बनाउने काम भइरहेको छ ।

तस्बिर सिर्जना : एआई


Image

अञ्जना लामिछाने

लामिछाने कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।