काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी-राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा विभाजन गर्ने तागत कसैसँग नरहेको बताउनुभएको छ ।
अध्यक्ष लिङदेनले पार्टीभित्र हाल देखिएको विवादले पार्टी विभाजन नहुने स्पष्ट पार्नुभएको हो । उहाँले राप्रपा अब कहिल्यै विभाजन नहुने बताउनु भयो । विगतमा चित्त नबुझ्ने बित्तिकै पार्टी फुटाइहाल्ने प्रवृति रहेको र त्यसको केही अवशेषहरू अझै भएपनि अब त्यो सम्भावना नरहेको उहाँको दाबी छ ।
उहाँले पार्टीभित्र देखिएका समस्या पार्टीभित्रै बसेर समाधान गर्ने पनि बताउनु भयो । चित्त नबुझेका विषयहरू पार्टीका समितिहरूमा छलफल गर्ने र छलफलपछि निस्किएको निष्कर्षलाई सबैले मानेर जानुपर्ने उहाँले बताउनु भयो ।
पार्टीका समितिहरूमा आफ्ना कुरा पारित हुन नसके, चित्त नबुझे महाधिवेशनमा गएर नेतृत्वमाथि नै चुनौती दिन सकिने उहाँको भनाइ छ । तर पार्टीको आन्तरिक विषयहरू सञ्चारमाध्यममा लैजाने, शुभेच्छुकहरूमा भ्रम पार्ने जस्ता कामहरू गर्न नहुने उहाँले बताउनु भयो ।
उहाँले असन्तुष्ट पक्षहरूले अध्यक्षले विद्यान विपरित काम गरेको भन्ने आरोपको खण्डन पनि गर्नुभएको छ । पार्टीको विधानअनुसार नै जिम्मेवारीहरू हेरफेर गरिएको उहाँको दाबी छ ।
विधानले अध्यक्षलाई समितिहरू गठन गर्ने, जिम्मेवारीहरू बाँडफाँड गर्ने, पदाधिकारी तथा सदस्यहरूलाई जिम्मेवारीहरू तोक्ने, परिचालित गर्ने लगायतका सुविधा दिएको उहाँको भनाइ छ ।
नेपाल जस्तो भूराजनितिक परिस्थिति भएको देशको लागी अभिभावकीय संस्थाको रूपमा राजसंस्स्था उपयुक्त हुने उहाँले बताउनु भयो । राप्रपाले निरन्तर रूपमा राजसंस्थाको लागि आवाज उठाईराखेको भन्दै उहाँले पछिल्लो दिनमा राजसंस्थाको माहोल पनि बन्दै गइरहेको बताउनु भयो । पछिल्लो समयमा राजसंस्थाको पक्षमा बनिरहेको परिवेश, जनमत सबैैको पृष्ठभूमीलाई आधार मान्दा राजसंस्था पुनःस्थापना निकटमा पुगेको उहाँको दाबी छ ।
उहाँले राजसंस्था पुनःस्थापना पक्षधरहरू पनि एकजुट हुँदै गएको बताउनु भयो । गत जेठ १५ गते राजसंस्था पक्षधहरुले कार्यक्रमले पनि राजसंस्था चाहिन्छ भन्ने सबै शक्तिहरु एकठाउँ उभिएको संकेत गरेको उहाँको दाबी त । उक्त कार्यक्रमले कुनै ठोस परिणाम नदिएपनि एउटा सकरात्मक सन्देश प्रवाह गर्न आफूहरू सफल भएको उहाँको भनाइ छ ।
राजसंस्था पक्षधहरूबीच देखिएका कमीकमजोरीहरूलाई सच्याएर आगामी दिनमा अगाडी बढ्न सकिने उहाँले बताउनु भयो । उहाँले पार्टीबाट कसैलाई निस्काषन नगरिएको पनि बताउनु भयो । अध्यक्षले मनोनितत गर्न पाउने पदहरुलाई परिवर्तन गर्ने पुरानै परम्परा रहेको पनि उहाँको दाबी छ ।
उहाँले निर्वाचन आयोगमा उजुरी दिएकाहरूप्रति लक्षित गर्दै पार्टी भित्रको आन्तरिक विवाद हेर्ने निर्वाचन आयोगको कार्यक्षेत्र नै नभएको बताउनु भयो । राप्रपाको प्रवक्ता, विभागको सदस्स्यसचिव, विभाग प्रमुख तोक्ने काम निर्वाचन आयोगको नभई अध्यक्षको भएको उहाँले बताउनु भयो ।