हेटाैँडा । बागमती प्रदेश सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले शुक्रबार राजीनामा दिएका छन् ।
बागमती प्रदेश सरकारमा मुख्यमन्त्री बहादुरसिंह लामासहित कांग्रेसबाट सरकारमा ८ जना मन्त्री बनेका थिए । राजीनामा दिनेमा संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने रहेका छन् ।
कांग्रेस संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री बहादुरसिंह लामालाई हटाउने तयारीका लागि चार मन्त्रीले राजीनामा दिएको स्रोतले बताएको छ ।
संसदीय दलको नेताबाट लामालाई हटाएर नयाँ मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रियाका लागि कांग्रेस सांसदहरूले प्रक्रिया अघि बढाएका छन् । यसका लागि ३७ सांसद रहेको कांग्रेस संसदीय दलमा २४ जनाले हस्ताक्षर बुझाएका छन् ।