काठमाडौं । नेकपा एमालेको पार्टी केन्द्रीय कमिटीको बैठक पार्टी विधानका विषयमा छलफल गर्न आज ११ बजे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यलय च्यासलमा आज बस्ने बैठकमा आगामी विधान महाधिवेशनका प्रस्तुत हुने विधानको मस्यौदा उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गर्नुहुनेछ।
प्रस्तावित विधानका बारेमा इच्छुक केन्द्रीय कमिटी सदस्यलाई बढीमा तीन मिनेटमा आफ्ना धारणा राख्न समय उपलब्ध गराइने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभएकोछ । सचिवालय,स्थायी कमिटी र पोलिटव्यूरो सदस्यहरुले उपल्ला कमिटीमै धारणा राखिसकेका कारण केन्द्रीय सदस्यहरुले मात्र आजको बैठकमा बोल्ने अवसर पाउने गौतमले जानकारी दिनुभयो ।
सचिवालय,स्थायी कमिटी र पोलिटव्यूरो बाहेक एमालेमा करिब २३० जना केन्द्र्रीय सदस्य रहेका छन् । बैठक आज र भोलीमा सक्ने भनिए पनि सबै सबै केन्द्रीय सदस्यहरुले धारणा राख्ने समय लिएमा पर्सीसम्म लम्बिने पार्टी केन्द्रीय कार्यलयले जनाएको छ ।
पार्टीको साउन १ गते बसेको सचिवालय,२ र ३ गते बसेको पोलिटव्यूरो बैठकले ७० वर्षको उमेर हद र एउटै पदमा दुई कार्यकालको प्रावधान हटाइको छ । उपाध्यक्ष पौडेलले विधान यी विषयहरु पनि समेटेर केन्द्रीय कमिटीम प्रष्तुत गर्नुहुने गौतमले जानकारी दिनुभयो । केन्द्रीय कमिटीले पास गरेको विधान मातहतमा कमिटी कमिटीमा थप सुझावका लागि पठाउने तयारी एमालेको छ ।
मातहतका कमिटीबाट आएका सुझावहरुलाई समेटेर महाधिवेशनमा प्रष्तुत गरिने गौतमले जानकाी दिनुभयो । भदौको २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा एमालेको विधान महाधिवेशन आयोजना गरिएको छ ।