काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पतञ्जली जग्गा प्रकरणमा आफूमाथि बिना कारण मुद्दा लगाइएको बताउनुभएको छ ।
नेपालको कानूनले हदबन्दी छुटलाई नियमन गर्ने सम्बन्धी विशेष व्यवस्था गरेको उहाँले उल्लेख गर्नुृभएको हो । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हदबन्दी भन्दा बढी जग्गा दिने काम गरेर र दिएको भन्दा बढी जग्गा बिक्री गर्न दिने काम गरेर बेठिक गरेको भन्दै मुद्दा लगाइएको बताउनु भयो ।
उहाँले नेपाल सरकारले सूचित आदेश बमोजिम हदबन्दीको जग्गा राख्न दिन स्वीकृति दिन सक्ने र स्वीकृति दिँदा आवश्यक सर्तहरू तोक्नसक्ने व्यवस्था गरेको बताउनु भयो ।
हदबन्दी भन्दा बढी जग्गा राख्न दिने अधिकार नेपाल सरकारसँग रहेको उहाँको भनाइ छ । हदबन्दी भन्दा बढी जग्गा राख्न दिएर गल्ती काम भयो भन्नेकुराको कानूनी आधार नरहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।
उक्त जग्गा मन्त्रीपरिषद्बाट सर्वसम्मतिले निर्णय गरेर दिएको उहाँले उल्लेख गर्नुभयो । आफू प्रधानमन्त्री हुँदा मन्त्रीपरिषद्मा विद्यादेवी भण्डारीदेखि एमाले महासचिव शंकर पोखरेल, सुजाता कोइराला, भीम रावल, मिनेन्द्र रिजालसम्म रहेको उहाँले दाबी गर्नुभयो ।
अध्यक्ष नेपालले कुनै गल्ती र बद्मासी आफूले आफ्नो जीवनमै नगरेको बताउनु भयो ।